हनुमानढोकामा चीर ठड्याएसँगै देशभर होली पर्व शुरु [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
622
Shares
काठमाडौँ । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका दरबारमा तीन तले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमान ढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार तीन तले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने गरिन्छ ।
आज बिहान ८:३३ बजेको शुभ साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एक अर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् । आज पशुपति, हनुमान ढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ ।
चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रूपमा चीर ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत् रूपमा होली पर्व शुरु भएको मानिने बताए । होली पर्व असत्यमाथि सत्यको जित भएको रूपमा पनि मान्ने गरिएको बताए ।
उनले भने, ‘होली असत्यमाथि सत्यको जितको प्रतीकको रूपमा मनाउने गरिन्छ । त्यस्तै भगवान् श्रीकृष्णको कथासँग पनि जोडिएको छ। बाँसै किन चाहियो भन्ने कुरा पनि छ । भगवान् विष्णुलाई सबैभन्दा मन पर्ने बाँस नै हो । चीरको महत्त्व परापूर्व कालदेखि नै छ । असत्यमाथि सत्यको जितको रूपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत् रूपमा होली शुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो ।’
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।