arrow

काठमाडौँको सुरक्षा 'हाइअलर्ट'मा, पूर्वराजालाई लिन लिङदेन जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
airport-security-81-11-25.jpg

काठमाडौँ  । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न काठमाडौँमा भव्य र्‍यालीको तयारी भइरहेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसमेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजालाई लिन र्यालीमा उपस्थित हुने भएका छन् । पार्टीले स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहनकुमार श्रेष्ठलाई दिएको छ । यद्यपि लिङ्देन पनि पूर्वराजालाई स्वागत गर्न जाने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरूले विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने बताएको छ ।

पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज दिउँसो ३ बजे काठमाडौँ आउन लागेका हुन् । यसैअवसरमा राजावादी दलहरुले राजाको पक्षमा शक्ति प्रदर्शन गर्न लागेका छन्  ।

राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौँको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

यही सन्दर्भमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठकसमेत बसेको छ । बैठकमा भिड अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित र गैरकानूनी क्रियाकलाप हुनसक्ने भएकाले त्यसलाई रोक्ने तयारीबारे छलफल भएको जनाइएको छ । 

सरकारले आज आवश्यक परे चारवटै सुरक्षा निकाय परिचालित गर्ने तयारी अनुसार आज बिहानैबाट काठमाडौँका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ