महिला न्यायाधीशहरू न्यायालय र न्याय प्रणालीको गौरव हुनुपर्छ - प्रधानन्यायाधीश राउत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
733
Shares
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरू नेपालको न्यायालय र न्याय प्रणालीको गौरव हुनुपर्ने बताएका हुन् । सोमबार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो तर्फबाट महिलाहरूलाई न्यायालय र न्याय प्रणालीको गौरव बनाउने कुरामा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले गौरव सहजै प्राप्त नहुने भन्दै न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै गौरव प्राप्त हुने जिकिर गरे । महिला न्यायाधीशहरुले न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्न सक्ने पनि बताए ।
प्रधानन्यायाधीश राउतले भने, ‘महिला न्यायाधीशहरू नेपालको न्यायालय र न्याय प्रणालीको गौरव हुनुपर्दछ । यसमा म तपाईंहरुलाई मेरातर्फबाट मैले जुन भूमिका निर्वाह गर्नुपर्दछ, म शुभकामना, बधाई दिन चाहन्छु । म तपाईँको लागि कुनै सहयोग गर्नुपरे कुनै कसर बाँकी राख्नेछैन । यो महिला न्यायाधीशहरूको गौरवको कुरा गर्दा त्यो गौरव त्यसै आउँदैन । न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै त्यो गौरव प्राप्त हुन्छ । न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि हुनसक्छ ।’
प्रधानन्यायाधीश राउतले अहिलेको न्यायालयको नेतृत्वले न्यायिक सुधारलाई प्राथमिकता दिएर अघि बढिरहेको बताए । उनले न्याय सम्पादनको कार्य जटिल रहेको बताए ।