नसर्ने रोगको पहिचानका लागि सांसदहरूको स्वास्थ्य परीक्षण [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
686
Shares
काठमाडौं । सरकारले नसर्ने रोगहरूको पहिचानका लागि संघीय सांसदहरूको स्वास्थ्य परीक्षण शुरु गरेको छ । नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानअन्तर्गत मंगलबार संघीय संसद परिसरमा सरकारले सांसदहरूको स्वास्थ्य परीक्षण गरेको हो । समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौँ भन्ने नारासहित सरकारले यो अभियान शुरु गरेको छ । सरकारले फागुन महिनाभर नसर्ने रोगहरूको पहिचानका लागि निःशुल्क परीक्षण अभियान शुरु गरेको थियो । अभियानमा स्थानीय स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको परीक्षण भइरहेको छ ।
अभियानअन्तर्गत उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौल निःशुल्क जाँच गरिएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको नीति,योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अधिकांश नेपाली नागरिक विभिन्न प्रकारका नसर्ने रोगहरूबाट पीडित रहेको बताए । उनले नेपालको स्वास्थ्य उपचारमा विगतमा अधिकांश राज्यको लगानी सरुवा रोगहरूमा हुने गरेको भए पनि पछिल्लो समय नसर्ने रोगहरूका लागि लगानी गर्नुपरेको बताए । नसर्ने रोगहरू दीर्घ प्रकृतिका हुने र लामो समयसम्म यसको असर रहने उनको भनाइ छ । उनकाअनुसार दीर्घ प्रकृतिका रोगले शरीरका विभिन्न अङ्गलाई प्रताडित गराउने र काम गर्न नसक्ने बताउने जटिलता बढी हुने गर्दछ ।
‘अधिकांश नेपाली नागरिक विभिन्न प्रकारका नसर्ने रोगहरू मिर्गौला, मधुमेह, मुटुका रोग, क्यान्सर लगायतका रोगहरूले प्रताडित हुनुभएको छ । हाम्रो स्वास्थ्य उपचारमा अधिकांश राज्यको लगानी विगतमा सरुवा रोगहरूमा हुने गर्दथ्यो, अहिले नसर्ने रोगहरूमा लगानी गर्नुपर्नेछ ।’ उनले भने,‘ नसर्ने रोगहरू दीर्घ प्रकृतिका हुन्छन् र लामो समयसम्म यसले असर गर्दछ । शरीरका विभिन्न अङ्गमा फेलियर गराउने अङ्गहरूलाई काम गर्न नसक्ने बनाउन सक्छन् । जटिलताका सम्भावना बढी हुन्छ ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन महिनालाई वार्षिक रूपमा नसर्ने रोगहरूको पहिचान गर्न प्रारम्भिक परीक्षणको शुरुवात गरेको हो । यसमा तौल नाप्ने, उचाई अनुसार शरीरको बीएमआई नाप गर्ने, रक्तचापको नाप गर्ने, रगतमा चिनीको मात्रा नाप्ने र पिसाबमा अल्गोमिन र सुगर लगायतका सामान्य परीक्षण देशभर नै सरकारले फागुन महिनामा सञ्चालन गरिरहेको छ ।
संघीय संसद्का सांसद, सचिवालयका कर्मचारी, सञ्चारकर्मीहरूलाई मध्यनजर गरेर फागुन २७ र २८ गते संसद भवन परिसरमा नसर्ने रोगहरूको परीक्षण अभियान सञ्चालन गरिएको डा. पौडेलले बताए । संसद्मा आज र भोलि बिहान ११ बजेदेखि ४ बजेसम्म परीक्षण हुनेछ । पब्लिक हेल्थमा गरिने वकालतलाई पनि यस अभियानले सहयोग पुग्ने विश्वास राखेको प्रमुख डा. पौडेलले बताए ।
उनले भने, ‘परीक्षण अभियानका क्रममा नसर्ने रोगहरूसम्बन्धी विभिन्न जानकारीमूलक सामग्री राखिएको छ । जसले मान्यज्युमार्फत आम नागरिकले जानकारी लिन सक्नुहुनेछ ।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबका हरेक वर्षहरूको फागुन महिनालाई नसर्ने रोग परीक्षणको महिना बनाइने बताए । उनले यसको सूचना व्यापक रूपमा फैल्याउन नसक्दा केही समस्या भइरहेको बताउँदै अब सञ्चारमाध्यमहरूले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । सात वटै प्रदेशका संसद्मा यो अभियान सञ्चलन न गर्ने पनि बताए ।
उनले भने, ‘यो यो वर्ष मात्रै तोकिएको होइन, अब हरेक वर्ष फागुन महिला नसर्ने रोगहरूको परीक्षणको महिना हुनेछ । यसको सूचना व्यापक रूपमा पु¥याउन सकिएको छैन तर अर्को वर्ष हामीले व्यवस्था गरेका छौँ । स्वास्थ्य केन्द्रमा स्क्रिनिङ हुने व्यवस्था गरेका छौँ । यसलाई अझ बढी प्रचार गर्न, यसको विश्वसनीयता थप गर्न संसद्मा गरेका हौँ । सातै प्रदेशका संसद्मा हुँदैछ ।’
स्वास्थ्य मन्त्री पौडेलले नेपालका सबै स्वास्थ्य केन्द्रमा निःशुल्क परीक्षण गर्न सकिने बताए । व्यापक रूपमा हुन नसक्नुमा सूचना प्रवाह व्यापक रूपमा हुन नसकेको बताए । सूचना प्रवाह भएको खण्डमा भने सबै नागरिकले परीक्षणमा सहभागी बन्ने बताए ।