पोखरेली पर्यटन व्यवसायी प्रवर्द्धन अभियानसहित चीन जाने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
522
Shares
पोखरा । पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा चिनियाँ बजारमा पोखराको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली पर्यटन व्यवसायीको टोली प्रवर्द्धन अभियानसहित चीन जाने भएको छ । चिनियाँ पर्यटक लक्षित गर्दै पर्यटन व्यवसायीले चीनका विभिन्न सहरमा एक सातासम्म प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नेछन् ।
पोखरा पर्यटन परिषद् (पीटीसी)का अध्यक्ष तारानाथ पहारीले चिनियाँ सहरमा नेपालको प्रवर्द्धन गर्ने र आगामी दिनमा पोखरामा चिनियाँ पाहुनाको सङ्ख्या बढाउनका लागि पर्यटन व्यावसायी प्रवर्द्धन अभियानमा सहभागी हुन लागेको बताए ।
प्रवर्द्धन अभियानमा जान थालेका व्यवसायीलाई चीनको सिचुआन एयरलाइन्सले पोखरादेखि चीनको छेन्दुसम्म चार्टर उडानमार्फत आउजाउ गराउने छ ।
चैत ५ गते सिचुआन एयरलाइन्सले पोखरा-छेन्दु चार्टर उडान गर्ने तयारी गरेको छ । चैत ५ गते छेन्दुबाट जहाज यात्रु लिएर पोखरा आउनेछ । पोखराबाट फर्किँदा पर्यटन व्यवसायी लिएर जहाज छेन्दु फर्कनेछ । नगर प्रमुख धनराज आचार्यको नेतृत्वमा छेन्दु पुग्ने पोखरेली टोलीले एक सातासम्म चीनको छेन्दु, लुझौं, चोङक्विङलगायतका सहरमा बजारीकरण गर्नेछन् ।
सो दिन बिहान १० बजे एक सय २७ जना चिनियाँ यात्रु लिएर आएको सिचुवान एयरलाईन्सको विमान पोखरा विमानस्थल अवतरण हुनेछ । सोही विमानबाट दिउँसो १२ बजे एक सय २७ जना पोखराबाट पर्यटन व्यवसायीको टोली छेन्दु प्रस्थान गर्ने पोखरा पर्यटन परिषद अध्यक्ष पहारीले जानकारी दिए ।
पहिलो उडान भएको एक हप्तापछि दोस्राे उडानमा पोखराका लब्धप्रतिष्ठित व्यक्तिसँग पत्रकारको टोली छेङ्दु जानेछन् भने त्यसपछिको हप्तामा हुने तेस्राे उडानमा सामाजिक अभियन्ता तथा नागरिक अगुवा जाने तयारी गरिएको पोखरा पर्यटन परिषदले जनाएको छ ।
नियमित चार्टर्ड फ्लाईटका लागि चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दु र नेपालस्थत चाइनिज ओभरसिज एसोसिएसनले समन्वय गरिरहेको परिषद्का अध्यक्ष पहारीले बताए ।
उनका अनुसार आगामी तीन महिना भित्रमा चीनको सिचुवानबाट एक हजार दुइ सय ५० जना भन्दा बढी चिनियाँ पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ । यो प्रयास चिनियाँ दूतावासको सहयोगमा भइरहेको उनले बताए ।
पोखरा आएका चिनियाँ एक सातासम्म पोखरा, चितवन, काठमाडौँ सहरमा घुम्नेछन् । पोखरामा भेटेर उनीहरू स्वदेश फर्किनेछन् ।
करोडौँ जनसङ्ख्या भएका चिनियाँ सहरमा प्रवर्द्धनात्मक अभियान लिएर जाँदा आगामी दिनमा पोखरामा चिनियाँ पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।
व्यवसायीको प्रवर्द्धनसँगै हिमालय एयरलाइन्सले आगामी चैत १८ गतेदेखि पोखराबाट चीनको ल्हासा उडान गर्ने तयारी गरेको छ । कम्पनीले सातामा एक पटक उडान गर्नेछ ।
कम्पनीका अनुसार चैत १८ गते बिहान काठमाडौँबाट जहाज चीनको ल्हासाका लागि उड्नेछ । ल्हासास्थित गोंगर विमानस्थलमा अवतरण भएको जहाज त्यही दिन ल्हासाबाट पोखराका लागि उडान भर्नेछ ।
पोखरा आएको रात्रिकालीन बिसानपछि जहाज भोलिपल्ट पोखराबाट ल्हासा उड्नेछ । त्यही दिन ल्हासाबाट काठमाडौँका लागि उडान भर्ने हिमालय एयरलायन्सले जनाएको छ ।