arrow

दुई बुँदे सहमतिसँगै सुल्झियो ओलम्पिक विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
noc-oca-kuwait-.jpg

काठमाडौँ । दुई बुँदे सहमतिसँगै नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधान भएको छ । 

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलित पक्षसँग दुई बुँदे सहमति गर्दै समस्या समाधान भएको जनाएका हुन् । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को आग्रहमा एसियाली ओलम्पिक काउन्सिल (ओसीए) ले गरेको पहलमा एनओसी विवाद टुंगिएको हो । 

ओसीएले ओसीएको मुख्यालय कुवेतमा असन्तुष्ट पक्षलाई सँगसँगै राखेर गरेको छलफलपछि समाधान निस्केको हो । 

सहमतिअनुसार आफूहरुलाई एनओसीमा आवद्धता दिनुपर्ने माग गरेका नेपाल आधुनिक पेन्टाथलन संघ, नेपाल घोडचढी संघ, नेपाल रग्बि संघ, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्ट बल संघका पदाधिकारी, एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका पूर्व महासचिव (चुनावमा अध्यक्षका उम्मेदवार ) निलेन्द्रराज श्रेष्ठसमेतको उपस्थितिमा ओसीएका पदाधिकारी बसेर समस्याको समाधान निस्केको हो । 

सहमतिअनुसार एनओसीले १५ दिनभित्र विशेष साधारण सभा बोलाएर एनओसीमा पूर्ण सदस्यताका लागि माग गर्ने पाँच संघलाई समेट्ने र पाँचैँ संघले तत्काल बिना सर्त अदालतमा एनओसीविरुद्ध दिएको मुद्दा फिर्ता लिने रहेका छन् । 

यससँगै एनओसीको विज्ञप्तिअनुसार एनओसीले गत डिसेम्बर २८ मा भएको निर्वाचनबाट निर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठसहित १९ सदस्यीय पदाधिकारीले आधिकारिकता पाएको संकेत गर्दैै विज्ञप्तिको पहिलो वाक्य नै यसैलाई उल्लेख गरेको छ । 

यद्यपि यस विषयमा असन्तुष्ट नेपाल सरकारले भने केही बोलेको छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ