लुम्बिनीले गण्डकी, आर्मीले कर्णाली र सशस्त्रले मधेसलाई हरायो
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
994
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार लुम्बिनी प्रदेश, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।
सिद्धार्थनगरको मैदानमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई १४ रनले हरायो । टस हारेर लुम्बिनीले पहिले ब्याटिङ गर्दै एक बल खेल्न बाँकी छँदै अलआउट हुँदै २१७ रन बनायो ।
प्रज्वल थापाले ७२ रन बनाए । अमित गुरुङले सर्वाधिक ३ विकेट लिए । जवाफमा गण्डकीले ९ विकेटको क्षतिमा २०३ रन बनायो ।
अर्जुन कुमालले ६२ रन बनाएको इनिङ्समा निर्मल गुरुङले ३ विकेट लिए ।
भैरहवाको मैदानमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १२८ रनले हरायो । खेलमा टस हारेर आर्मीले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २६२ रन बनायो ।
तिर्थराज दासले ६९ तथा कप्तान विनोद भण्डारीले ५६ रन बनाए । प्रकाश जैशीले ४ तथा दिनेश अधिकारीले ३ विकेट लिए ।
जवाफमा कर्णालीले ३७.१ ओभरमा अलआउट हुँदै १३५ रनमात्र बनाउन सक्यो । प्रकाश जैसीले अविजित रहँदै ५० रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा शहाब आलमले ३ तथा सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २–२ विकेट लिए ।
लमहीको मैदानमा सशस्त्र प्रहरीको एपीएफले मधेस प्रदेशलाई २ विकेटले हरायो । खेलमा मधेसले टस जितेर पहिले ब्याटिङ गर्दै ४०.४ ओभरमा अलआउट हुँदै १६८ रन बनायो । पवन सर्राफले ७७ रन बनाएको इनिङ्समा कमल ऐरीले ४ तथा भुवन कार्की र रोहित पौडेलले २–२ विकेट लिए ।
जवाफमा सशस्त्रले ३६.५ ओभरमा ८ विकेटको क्षतिमा जित हासिल गर्यो । सुमित महर्जनले ३५ तथा आसिफ शेखले ३४ रन बनाएको इनिङ्समा अलराउन्डर कमलले ३१ बलमा अविजित रहँदै २८ रन बनाए ।
अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा समान २ खेलबाट ४ अंकसहित सशस्त्र, आर्मी, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।
मधेस, कर्णाली, सुदूरपश्चिम र गण्डकीको समान २–२ अंक छ भने बागमती प्रदेश र कोशी प्रदेश अंकविहीन छन् ।