'समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्ने कुरा बिलकुलै गलत'
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
682
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रूपमा निर्माण नगरिएको बताएका छन् । शनिबार ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रचण्डको लागि समाजवादी टेको बनाइयो भन्ने कुरा सही नभएको बताए । उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरूको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्ने कुरा गलत भएको र यसअघि पनि आफूहरूले विभिन्न कार्यक्रम गरेको बताए ।
प्रचण्डले भने, ‘समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्ने कुरा बिलकुलै गलत हो । हामीले समाजवादी मोर्चा सोचे, सम्झेर बनाएको हो । पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अदालतमा मुद्दा परेकाले अहिले हुनुहुन्न । अहिले महेन्द्र राय यादव हुनुहुन्छ । हामी चार पार्टी नै रहेका छौँ । यो प्रचण्डको लागि भन्ने जो पर्न गएको छ, त्यो गलत पर्न गएको छ । समाजवादी मोर्चा २५ गतेको कार्यक्रमपछि मात्रै बैठक बसेर कार्यक्रम घोषणा गरेका होइन ।’
प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एक पटक जनतासँग आफ्नो आत्समीक्षा गर्न आवश्यक रहेको बताए । सोही उद्देश्य लिएर आफूहरू जनतासँग जोडिएको उनको जिकिर छ । उनले विगतमा भएका त्रुटिहरू सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । समाजवादी मोर्चाको कार्यक्रम राजावादीहरूको प्रदर्शनको जवाफ र कम्पनको कुरा नभएको बताए ।