नेपाल जस्ता मुलुकलाई जलवायु न्याय प्रदान गरिनुपर्छ - परराष्ट्रमन्त्री [भिडियो]
जलवायु कार्यमा सामूहिक सहकार्य आवश्यक छ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
721
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले जलवायु कार्यका लागि सामूहिक प्रयास र सहकार्य आवश्यक रहेको बताएकी छन् । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा मंगलबार गरेको राइसिना डायलगको जलवायु परिवर्तन सम्बन्धी सत्रलाई सम्बोधन गर्दै उनले पछिल्लो दिनहरूमा जलवायुजन्य विपद्का घटना बढ्दै गएको सन्दर्भमा यसको प्रभाव न्यूनीकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले नेपाल र नेपाल जस्ता विकासशील देशहरूले जलवायुजन्य विपद्बाट ठूलो क्षति व्यहोरिरहेको उल्लेख गर्दै प्रभाव न्यूनीकरणका लागि वैश्विक सहकार्य आवश्यक रहेको बताइन् । जलवायुजन्य विपद्का घटनाहरूबाट क्षति व्यहोरिरहेका मुलुक मध्ये नेपाल पनि अग्रपङ्क्ति रहेकाले आफूहरूले विश्वमञ्चहरुमा जलवायु न्यायको कुरा गर्दै आएको उल्लेख गरिन् । जलवायु परिवर्तनको असरले नेपालजस्ता हिमाल तथा पहाड भएका देशलाई मात्र नभएर सिंगो विश्वलाई नै असर गर्ने भएकाले सबै देशहरूले साझा एजेन्डाका साथ सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिएकी हुन् ।
मन्त्री डा राणाले कार्यक्रममा गत वर्षको सेप्टेम्बरमा जलवायुजन्य विपद्बाट नेपालको मानवीय र भौतिक संरचनामा ठूलो क्षति व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गर्दै जलवायु न्यायको लाई सबैको ध्यानाकर्षण गराइन् । सेप्टेम्बरको भाषण वर्षा र बाढीले पिउने पानी, सडक, ऊर्जा, सिँचाइ, पूर्वाधारहरू तथा कृषि क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले जलवायु वित्तमाथिको पहुँचका सम्बन्धमा नयाँ स्वरूपमा सोच्नुपर्नेमा जोड दिए । उनले भनिन् ‘अहिले विश्व नयाँ ढङ्गले अघि बढिरहेको छ । मलाई लाग्छ, अब परम्परागत दाताहरूबाट त्यसैगरी अनुदान तथा सहयोग नआउन पनि सक्छ, त्यसैले अब नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको छ ।’
जलवायु जन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचनाको महत्त्व रहेको भन्दै उनले वर्षा, बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरूको पूर्व सूचना प्रभावकारी बनाउन उच्चस्तरीय प्रविधि आवश्यक रहेको उल्लेख गरिन् ।