तीन नेतालाई छोटे राजाको संज्ञा दिँदै बाबुरामले भने - राजतन्त्र अब फर्किँदैन [भिडियो]
सरकारमा हुन्जेल ठिकठाक छ भनेर जनतालाई गफ दिन्छन्, सरकार गएको भोलिपल्टदेखि खत्तम भयो, बरबाद भयो, सकियो भनेर कराउँछन्
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
845
Shares
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताएका छन् । बुधबार माइतीघर मण्डलामा पार्टीको तर्फबाट आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक थरी मानिसहरू फेरि राजा महाराजा ल्याउने भनेर अघि सरिरहेको भन्दै राजतन्त्र ठिक नरहेको बताए ।
उनले राजतन्त्र समस्याको समाधान नभएको उनको टिप्पणी छ । उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल छोटे राजाको संज्ञा दिँदै अहिलेसम्म देश र जनताको लागि कुनै काम नगरेको बताए । उनले आफू सरकारमा भएसम्म सबै ठिक र सरकार बाहिर गएपछि सबै सकियो भन्ने परिपाटी अहिलेका तीन नेताहरूले देखाउने गरेको बताए ।
उनले भने, ‘एक थरी मान्छेहरूलाई फेरि राजा महाराजा ल्याउने की भन्ने परेको छ । त्यो सत्य होइन, ठिक होइन । धामी झाँक्रीको रूपमा मृत भइसकेको राजतन्त्र आउने वाला छैन । त्यो समाधान होइन । अहिले अर्को थरी तीन वटा टाउकाका रूपमा आएका छन् । जो आफूलाई छोटे राजा भन्छन् । संविधान जारी भएपछिको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएको छ । अनि तीन वटै टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा हुन्जेल ठिकठाक छ भनेर जनतालाई गफ दिन्छन्, सरकार गएको भोलिपल्टदेखि खत्तम भयो, बरबाद भयो, सकियो भनेर कराउँछन् । र जनता रनभुल्लमा पर्छन् ।’
पूर्व प्रधानमन्त्री डा. भट्टराईले आयुर्वेदले पूर्ण उपचार गर्न नसक्ने जिकिर गरे । उनले नेपाली देउवा, ओली र प्रचण्डलाई वैद्य रुपी टाउको भन्दै उनीहरू जति पटक दोहोरिए पनि देशको समस्या समाधान हुन नसक्ने बताए ।