काठमाडौँ । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ ।
सङ्घले यसको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ । सोही कम्पनीमार्फत सगरमाथामा बाटो खोल्ने कार्यमा अशोक लामाको नेतृत्वमा कर्माग्याल्जेन शेर्पा, पेमनुरबु शेर्पा, मिङदावा शेर्पा, टासी शेर्पा, पासारिन्जी शेर्पा, पास्तान्जेन शेर्पा र टासीनर्बु शेर्पा सहभागी छन् ।सगरमाथाको चुचुरोसम्म टाँग्ने डोरी, ‘क्लाइम्बिङ इक्युमेन्ट’, ‘टेक्निकल डिभाइस’ बाटो बनाउने टोलीलाई हस्तान्तर गरिएको छ ।
पर्यटन विभागसँगको सम्झौताअनुरुप पर्वतारोहण सञ्चालक सङ्घले हरेक वर्ष ‘रोप फिक्सिङ’को काम ‘टेन्डर’मार्फत कम्पनी छटौन गरेर दक्ष शेर्पालालाई सगरमाथाको बाटो खुलाउन खटाउने गरेको छ । यस्तो टोलीले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने तथा डोरी टाँग्नेछ । सन् २०२५ का लागि एट्के एक्सिपिडिसन कम्पनीले जिम्मेवारी पाएको छ ।
सन् २०२४ मा सेभेन समिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने जिम्मा पाएको थियो । सन् २०२३ मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले सगरमाथामा रोप फिक्सिङ गरेको थियो । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाउने गरेको छ । यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने दक्ष आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ ।
वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी शुरु गरिएको हो । खुम्बु आइसफल क्षेत्र सबैभन्दा जोखिमयुक्त क्षेत्र हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्छन् ।
दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका थिए । यो वर्ष पनि आरोहणका लागि उपयुक्त मौसम हुने र उल्लेख्य सङ्ख्यामा आरोही आउने पर्यटन व्यवसायीको अनुमान छ ।