अस्पताल बनाएर मात्रै हुँदैन - स्वास्थ्यमन्त्री [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
653
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्न सक्ने क्षमतावान् चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले जनशक्ति उत्पादित रहेको तर अस्पताललाई आवश्यकता पर्ने जनशक्ति उपलब्ध हुन नसकेको बताए ।
उपत्यकाभित्र निर्वाह हुने स्थिति रहे पनि उपत्यकाबाहिर कतिपय स्वास्थ्य संस्थाहरू शून्यताको स्थिति रहेको बताए । आफ्नो भूगोलमा योगदान गर्छु भनेर उपत्यका बाहिर गएर सेवा गर्ने अठोट गर्न जरुरी रहेको बताए । जनशक्तिको उन्नयनको पक्षमा अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन जरुरी रहेको बताए । आवश्यक जति तलब दिन नसके पनि निर्वाह हुने सम्मको तलब सुविधाको व्यवस्था गर्न आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले भने, ‘अस्पताल बनाएर मात्रै पुग्दैन, त्यहाँ उपचार गर्न सक्ने क्षमतावान् डाक्टर, नर्स र स्वास्थ्यकर्मीको आवश्यक पर्छ । जनशक्तिको उन्नयनको पक्षमा पनि हामी अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन सक्नुपर्छ । त्यो पनि हामीले महसुस गरेका छौँ । राज्यको तहगत निर्धारण निजामती सरह हुने स्थिति छ । तपाईँलाई विशिष्ट क्षमता भएको जनशक्ति मानिसकेपछि तपाईँको तहगत व्यवस्था पनि त्यहीअनुसार गर्नुपर्छ । यहाँहरूलाई आवश्यक जति तलब दिन नसके पनि निर्वाह हुने सम्मको तलब सुविधाको व्यवस्था गरिनुपर्छ ।’
मन्त्री पौडेलले अस्पताल, मन्त्रालय बनाएको नागरिकका लागि बनेको भन्दै नागरिकका लागि सहज हुने परिस्थिति बनाउन आवश्यक जरुरी रहेको बताए । उपचार सेवाबाट कसैले पनि विमुख हुनुपर्ने स्थिति हुन नदिन सरकारले काम गरिरहेको बताए ।