arrow

लौका बेचर मासिक ४० हजार आम्दानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
lauka-khetis.jpg

इलाम । जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आएकी छन् । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छन् । 

भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिन्छन् । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राखिन् ।

भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताइन् । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उनले भनिन् ।

बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु १७० बिक्री जनाउँदै उनले अहिले भने रु ५० मा बिक्री हुने बताइन् ।

उनले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्छिन् । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उन दैनिकजसो जाने गर्छिन् । 

भण्डारीले मासिक रु ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताइन् । उनले भनिन्, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु १५ लाख तिरिसक्न लागेको उनले उल्लेख गर्नुभयो ।

लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताइन् । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उनले बजार लगेर बिक्री गर्छिन् ।

“दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ