न्यायिक सुधार गर्नुपर्ने भएको छ - प्रधानन्यायाधीश [भिडियो]
कागजविहीन अदालतको यात्रामा अघि बढिसक्यौँ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
654
Shares
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायिक सुधार गर्नुपर्ने बताएका छन् । मंगलबार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकिल, न्यायाधीश, कानून व्यवसायी तयार हो की होइन ? भन्दै प्रश्न गरे । उनले अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने जिकिर गरे । न्यायिक सुधार गर्नुपर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको बताए । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने बताए । प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसङ्गति हटाउने बताए ।
प्रधानन्यायाधीश राउतले भने, ‘हामी पेपरलेस कोर्टको यात्रामा गएको छौँ । प्रश्न कहाँनेर छ भने त्यसको लागि विद्वान कानून व्यवसायी, सरकारी वकिल साथीहरू र हामी अदालतका सबै तयार भएका हौँ की होइनौँ ? अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुँदैन । यो बटमलाइन हो । हामीले न्यायिक सुधार गर्नुपर्ने भएको छ । तर न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान् । तर एउटा माध्यम के पनि हो भने प्रविधिमार्फत हुने सुधार हो । यसले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्दछ । अनियमितता, विकृति र विसङ्गति हटाउन मद्दत गर्दछ । यसको मूल कुरा हो । यति कुरा गर्न सक्दा जुडिसियल रिफर्मलाई धेरै मद्दत पुग्छ ।’