आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा (तस्बिर)
श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
709
Shares
काठमाडौँ। आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन्।
मङ्गलवार काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङ्गणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको शुभारम्भ गरेका छन्।
यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगार मूलक विधाहरूमा तालिमहरू सञ्चालन गर्नेछ।
स्कुलले आगामी एक दशकमा एक लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेसनलहरू उत्पादन गर्ने लक्ष्य लिएको छ।
आफ्नो अढाई दशकको व्यावसायिक यात्रामा आइएमई ग्रुपले बैङ्क तथा वित्तीय क्षेत्र, बिमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौँ उद्योग तथा परियोजनाहरू सञ्चालन गरिसकेको छ।
आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरूमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ।
आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए। उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताए।
उनले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए। स्वदेशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीले बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौँ टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए।
उनले यस स्कूलले थप हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। “नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,” उनले भने।
“हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेसनलहरू उत्पादन गर्ने लक्ष्य लिएका हौँ। यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगार मूलक विधाहरूमा तालिमहरू सञ्चालन गर्नेछ,” उनले भने।
सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरूको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनले बताए। अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सीप विकास नै यसको समाधान रहेको बताए।
“स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ। अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ। यस्ता कुरामा हस्तक्षेप गरी युवाहरूलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।
काठमाडौँ टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामी दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने बताए।
उनले केटीएसले युवाहरूलाई विश्व स्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत बताए।
यस स्कुलले केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरू सिर्जना गर्नेछ, उनले भने। केटीएसले आफ्ना विद्यार्थीहरूलाई विश्व स्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रिय स्तरका उद्योग व्यवसायका साथै अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्ने नीति लिएको उनले बताए।
कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ टेक्निकल स्कुल (केटीएस)को उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको मन्तव्य
काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष तथा यस समारोहका सभापतिज्यू
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यू
श्रीमान् मुख्य सचिवज्यू
सचिवज्यू
अतिथिज्यूहरू
उपस्थित महानुभावहरू एवम् पत्रकार मित्रहरू
नमस्कार ।
आफ्नो अढाई दशकको व्यावसायिक यात्रामा आइएमई ग्रुपले बैङ्क तथा वित्तीय क्षेत्र, बिमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौँ उद्योग तथा परियोजनाहरू सञ्चालन गरिसकेको छ । आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरूमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि हामीले सहयोग गरेका छौँ ।
आज उद्घाटन गरिएको यस काठमाडौँ टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको छ ।
यस स्कूलले थप हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा यहाँहरूमा जानकारी गराउन चाहन्छु ।
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ ।
नेपालको परिप्रेक्ष्य व्यक्तिगत तथा पारिवारिक समृद्धिका साथै देशको विकासमा दक्ष जनशक्तिको आवश्यकता र महत्वलाई दृष्टिगत गर्दै आइएमई ग्रुपले यस क्षेत्रमा कदम चालेको हो ।
आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेसनलहरू उत्पादन गर्ने लक्ष्यका साथ हामीले यो पहल लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगार मूलक विधाहरूमा तालिमहरू सञ्चालन गर्नेछ ।
माननीय मन्त्रीज्यू,
आधुनिक विश्वमा प्राविधिक शिक्षा विकल्प होइन, आवश्यकता बनिसकेको छ । पहिलेजस्तो विश्वविद्यालयको डिग्री लिनै पर्ने र त्यस्तो अध्ययन गर्न नसक्ने वा नभ्याउनेहरूले प्राविधिक शिक्षा पढ्ने अवस्था अहिले छैन । अझ अघिल्लो पुस्तासम्म त नेपालमा विद्यालय तहको पढाइमा राम्रो नतिजा हासिल गर्न नसक्नेले मात्र प्राविधिक शिक्षा वा तालिम लिने सोच थियो जुन कतिपयमा यद्यपि कायम छ ।
तर अहिले आफूलाई दक्ष र अब्बल साबित गर्न मात्र होइन आफूले चाहेको क्षेत्रमा जागिर पाउन वा आफ्नै व्यवसाय थाल्नका लागि प्राविधिक शिक्षा अपरिहार्य बनेको हामीले देखेका छौँ । अभिभावक र विद्यार्थीहरू स्वस्फूर्त रूपमा यसतर्फ आकर्षित भइरहेका छन् ।
अबको शिक्षाको मोडल पनि यस्तै बन्नुपर्छ । विद्यालय तहको अनिवार्य शिक्षा हासिल गरिसकेपछि प्राविधिक विषयको अध्ययन वा तालिम सक्ने, अनि रोजगार वा स्वरोजगार बन्दै अन्य प्राज्ञिक विषयको अध्ययन अघि बढाउने ।
त्यसैले सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरूको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्छ । विश्वका अनेक मुलुकहरू र हाम्रा छिमेकी भारत र चीनले इनोभेसन, उत्पादकत्व र आर्थिक वृद्धिलाई टेवा दिनका लागि सीपमूलक शिक्षाको उच्च उपयोग गरेको देखिन्छ ।
इन्जिनियरिङ, स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, होटेल तथा पर्यटन, कृषि वा अन्य धेरै क्षेत्रमा प्राविधिक ज्ञानले उद्योगलाई आकार दिन र समाजलाई परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
नेपालमा पनि सरकारले राष्ट्र निर्माण तथा आर्थिक उन्नतिमा प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको कुरालाई आत्मसाथ गरेको देखिन्छ । सीपमूलक शिक्षा तथा व्यावसायिक प्रशिक्षणलाई प्रवर्द्धन गर्न विभिन्न नीति तथा पहलहरू थालिएका छन् ।
यस्ता नीति तथा अभियानलाई सार्थक बनाउनका लागि नेपालमा उचित मूल्यमा गुणस्तरीय शिक्षा र प्रशिक्षण प्रदान गर्न सक्ने शिक्षालयहरूको आवश्यकता छ । सीटीईभीटीमा मात्र सीमित प्राविधिक तथा व्यावसायिक शिक्षामा अहिले स्वदेशी तथा विदेशी विश्वविद्यालयहरूको समेत प्रवेश भइसकेको छ । यसबाट पनि यसको महत्त्व र गाम्भिर्यता पुष्टि हुन्छ ।
उपस्थित महानुभावहरू,
अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती के हो ? भनेर सोध्यो भने यहाँहरूमध्ये अधिकांश ले सेकेन्ड पनि खेर नफाली जवाफ दिनुहुनेछ – बेरोजगारी तथा युवा शक्तिको पलायन ।
त्यसो भए हाम्रा युवाहरू किन यसरी देश छाडिरहेका छन् ? के यो उनीहरूको रहर हो ? परिवारबाट बिछोडिएर अनि देश र समाजबाट टाढिएर बिरानो मुलुकमा बस्ने ? हामी सबैलाई थाहा छ, यो उनीहरूको बाध्यता हो । हो केही सङ्ख्यामा युवाहरू बिदेसिनु पर्छ । नयाँ नयाँ विषयहरूको अध्ययन गरी ज्ञान यहाँ भित्र्याउनु पर्छ । नयाँ रोजगारी तथा सीपका अवसरहरू भित्र्याउनुपर्छ । तर सकी नसकी रिन धन गरेर थ्रिडी भनिने डर्टी, डेन्जरस र डिमिनिङ काम गर्न अर्काको देशमा जानुपर्ने अवस्था पक्कै पनि सन्तोषको कुरा होइन ।
पछिल्ला तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नयाँ र नवीकरण गरी ७ लाख १४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । त्यस्तै अनौपचारिक माध्यमबाट विदेशमा काम गर्न जाने नेपालको सङ्ख्या पनि उल्लेख्य छ । त्यसको अर्थ हो, एक दिनमा झन्डै २ हजार नेपालीले कामकै लागि मुलुक छाडिरहेका छन् । विदेशमा पढ्न र तालिम लिन जानेको सङ्ख्या पनि तीव्र गतिमा बढिरहेको छ ।
यो चिन्ताजनक अवस्था हो । तर मलाई लाग्छ, अझ बढी चिन्ताको अवस्था हामीसँग विद्यमान छ ।
त्यो भनेको के हो भने विदेशमा काम गर्न स्वीकृति लिनेमध्ये १ लाख ४५ हजार अदक्ष र ५ लाख ३२ हजार सामान्य सीप भएका छन् । यस्ता सीपविहीन वा सामान्य सीप भएका कामदारले पाउने तलब वा सुविधा ज्यादै कम हुने गरेको छ । उनीहरूले गर्ने काम पनि सहज हुँदैन ।
सात लाख भन्दा बढी नेपाली विदेशमा रोजगारी गर्न गएकोमा जम्मा ७ सय ३२ उच्च सीप भएका र २ हजार ७ सय ७२ प्रोफेसनल छन् ।
वैदेशिक रोजगारमा रहेको एक नेपालीले एक वर्षमा पठाउने रेमिट्यान्सको रकम भन्दा फिलिपिन्सको व्यक्तिले झन्डै चार गुणा बढी रहेको तथ्याङ्कले देखाउँछ ।
यी तथ्याङ्कले पनि यहाँ सीप विकासको आवश्यकता कति ठूलो रहेछ भन्ने प्रस्ट पार्छ । स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ ।
यस्ता कुरामा हस्तक्षेप गरी युवाहरूलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो । माननीय मन्त्रीज्यू, सीप सहित मात्र नेपालीलाई आन्तरिक रोजगारी तथा वैदेशिक रोजगारमा संलग्न हुने कानुनी प्रबन्ध गरेमा काठमाडौँ टेक्निकल स्कुल जस्ता प्राविधिक सीप दिने थप विद्यालयहरू देशै भरी खुल्ने अवस्था हुन्छ ।
जसरी प्राज्ञिक ज्ञानको तहगत सर्टिफिकेट हुन्छ । त्यसै गरी, प्राविधिक ज्ञान, सीपको पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता हुने गरी सीप परीक्षण मार्फत प्रमाणीकरण गर्न सहियो र निजी क्षेत्रले आन्तरिक रोजगारमा जनशक्ति लिँदा उक्त प्रमाणपत्र लाई आधार मान्ने र वैदेशिक रोजगारमा जाने व्यक्तिलाई पनि उक्त प्रमाण पत्रले आफ्नो दक्षता अनुसारको काम पाउने सुनिश्चितता हुन्छ । हो, रोजगारका सबै क्षेत्रमा स्किल सर्टिफिकेट एकै पटक अनिवार्य गर्न सकिँदैन । तर कुनै कुनै निश्चित रोजगारीका क्षेत्र जस्तै हस्पिटालिटी, निर्माण क्षेत्रबाट तुरुन्तै सुरुवात गर्न सकिन्छ । वैदेशिक रोजगारबाट फर्किएका नेपाली युवाको पनि सीप परीक्षण गरी सर्टिफिकेट दिने व्यवस्था गर्न सकेमा त्यस सर्टिफिकेटले देश भित्रै सीप अनुसारको रोजगारी खोज्ने वा स्वरोजगार बन्ने पाटो समेत खुल्नेछ ।
आदरणीय महानुभावहरू,
यस केटीएसको माध्यमबाट हामीले युवाहरूलाई विश्व स्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छौँ जसले उनीहरूलाई केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरू सिर्जना गर्नेछ ।
सीपले युक्त कुशल व्यक्तिहरूले मात्र आफ्नै व्यवसाय स्थापना र सञ्चालन गर्न सक्छन् । स्थानीय अर्थतन्त्रको विकासमा योगदान दिन सक्छन् । राष्ट्रिय विकासलाई गति दिन सक्छन् । जब युवाहरू नेपालमै रहन्छन् तब त्यसले परिवार, समाज र समुदायको विकासमा सकारात्मक प्रभाव पार्नेछ । साथै, राष्ट्रिय पहिचानलाई मजबुत बनाउने छ ।
आर्थिक अवस्था राम्रो भएको परिवारको स्वास्थ्य र शिक्षा पनि राम्रो हुन्छ । त्यसले समाजमै खुसीयाली सिर्जना गर्छ । त्यसैले, केटीएसले कर्मचारी मात्र होइन, उद्यमी सिर्जना गर्ने लक्ष्य लिएको छ । आतिथ्य, प्राविधिक सेवा र एज केयरजस्ता उच्च माग भएका उद्योगहरूमा केन्द्रित पाठ्यक्रमहरूको सहयोगमा हामीले हाम्रा ग्र्याजुएटहरूलाई उच्च आय दिने दीर्घकालीन करियरका लागि तयार गरिरहेका छौँ ।
उनीहरूलाई विश्व स्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन केटीएसले स्थानीय तथा राष्ट्रिय स्तरका उद्योग व्यवसायका साथै अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्ने नीति लिएको छ । आफ्नो क्षेत्रमा सफल बनेका व्यक्तिहरूले यहाँ ज्ञान बाँड्नेछन् । यहाँको पाठ्यक्रम अहिलेको समयको बजारको मागलाई सम्बोधन गर्ने गरी तयार गरिएको पनि म जानकारी गराउन चाहन्छु ।
अन्त्यमा, शिक्षा प्रगतिको आधार हो भने प्राविधिक शिक्षा आर्थिक र सामाजिक परिवर्तनको इन्जिन हो । काठमाडौँ टेक्निकल स्कुल त्यही परिवर्तनको संवाहक बन्न चाहन्छ ।
धन्यवाद ।