गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजियो - गृहमन्त्री [भिडियो]
राजतन्त्र उचित व्यवस्था हो कि गणतन्त्र उचित व्यवस्था हो ?
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
779
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन् । उनले गणतन्त्रले केही पनि गर्न सकेन भन्ने आरोपको खण्डन गर्दै जनताको अबाज सुन्ने व्यवस्था नै लोकतान्त्रिक गणतन्त्र भएको बताए ।
उनले २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक कूको प्रसङ्ग कोट्याउँदै राजतन्त्रको पहिलो निशाना सञ्चारमाध्यम बनेको बताए । उनले जनताको अबाज कुल्चिएर लोकतन्त्र समाप्त पार्ने राजतन्त्र ठिक कि जनताको अबाज सुन्ने गणतन्त्र ठिक भन्दै प्रश्न गरे । लोकतान्त्रिक गणतन्त्रले गरेका कामको सञ्चारमाध्यमहरूले प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिले समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । लोकतन्त्रले केही गर्न सकेन । गणतन्त्रले केही गर्न सकेन । यसको विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्ने कोसिस भइरहेको छ । यो अत्यन्त गलत कुरा हो । लोकतन्त्रले सञ्चारको कुरा सुन्छ,गणतन्त्रले जनताको कुरा सुन्छ । गणतन्त्रले लोकतन्त्रले जनताका आवश्यकता सुन्दो रहेछ, बुझ्दो रहेछ । अब त्यसैलाई अर्को पाटोमा हेर्नुस् त । एक पटक केही वर्ष पहिला तत्कालीन राजाले कू गर्नुभएको थियो । लोकतन्त्रलाई समाप्त गरेर आफ्नो शासन लागू गर्नुभएको थियो । तपाईँहरू कति जनालाई सम्झना छ ? सबैभन्दा पहिला राजाले कू गर्दा नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मी सबैभन्दा पहिला सञ्चारमाध्यमका अफिसमा गएका थिए । सम्झना छ ? एउटा आवाजले जनताका आवाज कुल्चिन्छ । एउटा आवाजले सञ्चारको अबाज कुल्चिन्छ । पत्रकारको आवाज कुल्चिन्छ । त्यो व्यवस्था भनेको राजाको व्यवस्था हो । लोकतन्त्रले जनताको आवाज सुन्छ, पत्रकारिताको अबाज सुन्छ । राजतन्त्र उचित व्यवस्था हो कि गणतन्त्र उचित व्यवस्था हो ? मैले भन्नै परेन नि ।’