काठमाडौँ । अफगानिस्तानको यू–१९ पुरुष टोलीले एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाललाई १३० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
३०१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभर खेल्दा अलआउट हुँदै १७० रनमात्र बनाउन सक्यो । नेपालका लागि निरजकुमार यादवले सर्वाधिक ५३ रन बनाए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली अफगानिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३०० रन बनायो । अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए ।
उनले ८८ बलमा नौ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन् । त्यसैगरी, खालिद अहमदजाइले १०७ बलमा छ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।
नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।
नेपाल र अफगानिस्तान यू–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा रहेका छन् । छनोटअघि दुवै टोलीले तीन खेलको अभ्यास श्रृंखला खेलिरहेका हुन् ।