arrow

पूर्वजन्म र पुनर्जन्म

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८१ चैत २३ शनिबार
rajendra-panthi-81-12-23.jpg

हामीले बाँचिरहेको जुन जीवन छ यसको पूर्वजन्म र पुनर्जन्म हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ। हामीले भोगिरहेको जीवनमा दुई पक्ष छन्; आत्मा र शरीर । आत्मा भनेको चेतना हो,जुन अदृश्य छ। शरीरको कतै चिमोट्दा दुख्नु नै आत्मा हुनु हो । शरीर भनेको हाडछाला, रगत, मासु आदिबाट बनेको वस्तु हो । आत्मा अजर र अमर हुनाले यसको मृत्यु हुँदैन भने शरीरको निश्चित समयावधि पछि मृत्यु हुन्छ ।

पूर्वीय शास्त्रहरू वेद, ब्राह्मण, आरण्यक, उपनिषद्, पुराण, गीता आदिमा पूर्वजन्म र पुनर्जन्मका बारेमा विभिन्न सन्दर्भमा व्यापक वर्णन गरिएको पाइन्छ।अहिले त पाश्चात्य जगतमा यसका बारेमा बृहत् अनुसन्धान पनि भइरहेका देखिन्छन्।पूर्वजन्म र पुनर्जन्म हुने भनेको आत्माको हो । पूर्वजन्म भनेको अहिले जुन आत्मा भोगिरहेका हुन्छौँ त्यसको पूर्वस्वरुप हो भने अहिलेको शरीर मरिसकेपछि आत्माले अर्को शरीरमा गई पुन जन्म लिनुलाई पुनर्जन्म भनिन्छ । हामीले मान्छेको मृत्यु वा स्वर्गारोहण भयो भन्छौँ, त्यो भनेको केवल शरीरको मात्र मृत्यु भएको हो; आत्माको मृत्यु हुँदैन। त्यो आत्माले अर्को शरीर खोजेर पुनर्जन्म लिन्छ ।

श्रीमद्भागवत गीतामा शरीरलाई हाम्रा लगाउने कपडासँग दाँजिएको  छ। हामीले कुनै कपडा अब पुरानो भयो भनेर जसरी त्याग्छौँ, आत्माले पनि शरीर पुरानो हुँदै गएपछि त्यागेर नयाँ शरीरमा प्रवेश गर्छ । अहिले हामीले जुन जीवन भोगिरहेका हुन्छौँ त्यसमा पूर्वजन्मको प्रशस्त प्रभाव वा चिन्हहरू आएका हुन्छन् भनिन्छ। आधुनिक विज्ञानमा पनि ऊर्जाको कहिल्यै विनाश हुँदैन, केवल त्यसको स्वरुप परिवर्तन हुन्छ भनिएको छ। 

जुन प्रकारले कुनै वस्तुमा रहेको ऊर्जा नष्ट हुँदैन, त्यसैगरी हाम्रो चेतना वा आत्मा पनि कहिल्यै नष्ट हुँदैन त्यसले अर्को स्वरुप ग्रहण गरेको हुन्छ। हाम्रो आत्माले अघिल्लो जुनीमा जे कुरा भोगेको थियो त्यसका कतिपय अवशेष वा  चिन्हहरू यो जुनीमा पनि आएका हुन्छन् भनिन्छ । कतिपय बालबालिकामा उमेर नपुग्दै विभिन्न किसिमका अनौठा र आश्चर्यजनक क्रियाकलाप देखा पर्छन्,ती पूर्वजन्मका प्रभाव हुन् भनिन्छ। 

प्रसिद्ध संगीतकार मोजार्टले चार वर्षकै उमेरमा संगीत कम्पोज गरेका थिए । दार्शनिक लर्ड मेकाले र विचारक मिल हिँड्न जान्नु भन्दा पहिले लेख्न जानेका थिए । वैज्ञानिक गब्स तीन वर्षकै उमेरमा गणितका समस्याहरू समाधान गर्थे । अमेरिकी एक चार वर्षीय बालक र्यान ह्यामन्सलमा धेरै वर्ष पहिले नै मृत्यु भएका हलिउड अभिनेता एजेन्ट मार्टिनको स्वरुप र विशेषता देखिन्थ्यो ।

हामीहरू बालबालिकाले देखाउने  कतिपय विशिष्ट किसिमका लक्षणहरूलाई देखेर आश्चर्य पनि मान्छौँ। बच्चामा रहेको त्यो क्षमतालाई भगवानद्वारा दिइएको उपहार पनि भनिन्छ। कसैले रुन नसिकाउँदा पनि शिशु जन्मदा बित्तिकै रुनु, स्तनपान गराउँदा रुन छाड्नु, अनुकूल अवस्थामा खुशी हुनु जस्ता कुराहरू शिशुमा पूर्व  संस्कारबाट आएका हुन् भनिन्छ । 

हामीमध्ये पनि केहीले आफ्नो जीवन भोगाइमा असाधारण भावनाहरू,संवेदनाहरू,सम्झनाहरू अनुभव गरेका हुन्छौँ। कुनै बैध कारण बिना व्यक्तिमा डर उत्पन्न हुनु,कुनै जीवजन्तु वा जनावरदेखि डराउनु,कुनै खास ठाउँमा जान डर लाग्नु,कुनै वस्तु देख्दा घृणा लाग्नु,कहिल्यै नगएको ठाउँमा बारम्बार गएको सपना देख्नु आदि जस्ता घटना वा अनुभूति पनि पूर्वजन्मकै अवशेष हुन् भनिन्छ।मान्छे मृत्युको समयमा जेजे कुराहरू सोचिरहेको हुन्छ,ती कुराहरू अर्को जन्ममा अभिव्यक्त हुन्छन् भनिन्छ।

भर्जिनिया विश्वविद्यालयका मनोचिकित्सक इयान स्टिभेन्सले पुनर्जन्म सम्बन्धी २५ हजार भन्दा बढी बालबालिकाहरूको घटना अध्ययन प्रतिवेदन तयार गरेका थिए । उनले विगतको जीवन सम्झेको दाबी गर्ने साना बालबच्चाहरूको अनुसन्धान गरेका थिए । उनले यसैलाई आधार बनाएर १२ ओटा पुस्तक पनि प्रकाशित गरेका छन् । स्टिभेन्सनका अनुसार बच्चाले कुराकानी गर्न सक्ने बित्तिकै अघिल्लो जीवनकालको वर्णन गर्छ । 

बच्चाले विगत जीवनको घर र छिमेकीहरूको विशेषतासमेत सम्झिन्छन् । तीन वर्षदेखि साढे सात वर्षसम्मको बच्चाले विगत जीवनका कुराहरू गर्छ । बच्चाले आफ्नो पूर्वजीवनकालमा भएको मृत्युका विवरण पनि सम्झन्छन् । त्यस्तै स्टिभेन्सका शिष्य तथा भर्जिनिया विश्व विद्यालयका प्राध्यापक जिम टकरले भियतनामको युद्धमा मरेका व्यक्तिको सम्झना गर्ने बालबालिकाको अध्ययन गरेका थिए । उनले यिनीहरूकै अध्ययन गरेर बिफोर;चिल्ड्रेन मेमोरिज अफ प्रिभ्यु लाइभ्स भन्ने पुस्तक पनि प्रकाशित गरेका छन् । 

यो पुस्तकलाई मानिसको मृत्यु हुँदा पनि आत्मा वा चेतना मृत्यु हुँदैन भन्ने सबैभन्दा विश्वस्त वैज्ञानिक प्रमाण मानिन्छ । विश्वप्रसिद्ध लेखक  भोल्तेयरले पनि मानिस एकपटक भन्दा दुईपटक जन्मनु अचम्मको कुरा होइन, प्रकृतिमा सबै कुरा पुनरुत्थान हुन्छ भनेका छन् । भारतका प्रसिद्ध मनोवैज्ञानिक प्राध्यापक सतवन्त पस्त्रिताले पनि मानिसको पुनर्जन्म हुन्छ भनेर धेरै अध्ययन अनुसन्धानबाट पुष्टि गरेका छन्। पूर्वीय अध्यात्म र शास्त्रका व्याख्याता शंकराचार्यले पनि मानिसको पुनर्जन्म हुने कुरालाई प्रष्ट्याएका छन् ।

पूर्वीय शास्त्र अनुसार कसैले पूर्वजन्ममा सत्कर्म गरेको र यो जीवनमा पनि सत्कर्म नै गर्‍यो भने उसको पुनर्जन्म हुँदैन, ऊ सिधै परमात्मामा लीन हुन्छ भनिन्छ । यदि हामीले भोगिरहेको यो जीवनमा सत्कर्म गर्यौँ भने अर्को जन्म नलिई यो शरीरको मृत्यु हुँदा हाम्रो आत्मा पनि परमात्मामा मिलन हुन्छ भनिएको छ । तर हामीले भोगिरहेको अहिलेको जीवनलाई परमात्मामा मिलन हुन नदिने तत्त्व भनेका हामीमै रहेका अहंकार, आशक्ति र भ्रम हुन् । यिनलाई त्याग्न वा यिनबाट छुटकारा पाउन सकियो भने हामीले परमात्मा प्राप्त गर्न सक्छौँ भनिएको छ ।

मानिसले अहिलेकै जुनीमा अंहकार, आशक्ति र भ्रमलाई चिर्दै  सत्कर्म गर्न सक्यो भने बारम्बार पुनर्जन्म लिनु पर्दैन । यस जुनीमा जस्तो कर्म गर्यो अर्को जुनीमा त्यस्तै जीव बनिन्छ । यस जुनीमा मानिस भएकाहरू अघिल्लो वा पछिल्लो जुनीमा मानिस, किराफट्यांग्रा, हिंस्रक प्राणी, पतपतिङ्गर जे भइएको वा जे बनिन पनि सकिन्छ । पुनर्जन्मको अन्तिम लक्ष्य भनेको संसारको चक्रबाट मुक्ति वा मोक्ष प्राप्त गर्नु र परम आनन्द, शान्ति र परमात्मासँग मिलेको अवस्था प्राप्त गर्नु नै हो ।

वास्तवमै मानिस भ्रममा परेर आफूले नै अनेक किसिमका लालसाहरू निम्त्याउँछ अनि त्यसैमा फस्छ । विभिन्न कारणले ती पुरा हुन सक्दैनन् । अनि ती पुरा गर्न भन्दै पटकपटक जन्मनु परेको हो भनेर शास्त्रीय ग्रन्थमा बताइएको छ ।

मानिस योग, ध्यान र साधनाले पूर्ण हुन सक्यो भने शरीरको मृत्युपछि आत्मा र परमात्मा मिल्छ र पटक पटक जन्म लिनु पर्दैन भनिएको छ। हातमा काम र मनमा राम अर्थात् ईश्वरलाई सम्झन सकियो र विधिपूर्वक ध्यान र योग पनि पुरा गर्न सक्ने हो भने मानिसले पाइरहेको अहिलेको शरीरको मृत्यु नहुँदै परमात्मा प्राप्त गरेको अनुभूति गर्न सकिन्छ भनेर धेरै विद्वानहरूले पनि बताएका छन् । ॐ शान्ति,शान्ति! (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ