काठमाडौँ । नेपालको यू–१९ टिमले अफगानिस्तानको यू–१९ क्रिकेट टोलीसँग एक रनको हार बेहोरेको छ । तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल एक रनले पराजित भएको हो ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर १६८ रनमात्र बनाउन सक्यो । कप्तान महबुब खानले ५८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सन्तोष यादवले ३, सिब्रिन श्रेष्ठ र बिपिन शर्माले २–२ तथा अभिषेक तिवारी र अपराजित पौडेलले १–१ विकेट लिए ।
जवाफमा नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १६७ रनमात्र बनाउन सक्यो । ओपनर साहिल पटेलले ६४ रन बनाएको इनिङ्समा अन्य ब्याटरहरु जम्न नसकेपछि नेपालले जित नजिक पुगेर पनि हारको सामना गर्नुपर्यो ।
यो हारसँगै नेपालले तीन खेलको श्रृंखला एक खेलअघि नै गुमाएको छ । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।
यू–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरुप नेपाल र अफगानिस्तानले अभ्यास खेलिरहेका हुन् ।
अर्को साता नेपालमा नै आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।