arrow

भगवान्, देवता र मानव 

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८१ चैत ३० शनिबार
rajendra-panthi-81-12-30.jpg

भगवान्

यो ब्रह्माण्डमा रहेका सम्पूर्ण चराचर, वनस्पति, जीव आदिका बीचमा अन्योन्याश्रित, परम्पर र रहस्यात्मक सम्बन्ध छ । एक बिना अर्को चल्न र अस्तित्व बचाउन सक्दैन । कुनै पनि वस्तु आफैमा पूर्ण छैन । माटोलाई ढुङ्गाको साथ र ढुङ्गालाई माटोको साथ भनेझैँ यो सृष्टिमा रहेका हरेक जीव, ढुङ्गा, माटो, पात, पतिङ्गर, ग्रह, नक्षत्रदेखि अणुसम्म एकापसमा अन्तर्सम्बन्ध र साथ रहेको छ ।

पूर्वीय दर्शन अनुसार यी विभिन्न तत्त्वहरूलाई अन्तर्सम्बन्धित गराउने,मिलाउने,नियन्त्रण र निर्देशन दिने अदृश्य शक्तिलाई भगवान् भनिएको छ। भगवान्लाई विभिन्न नामबाट सम्बोधन गर्ने गरिन्छ । भगवान्लाई ब्रम्ह, ईश्वर, परमात्मा, परमेश्वर पनि भनिन्छ ।

भगवान्को आकाश जस्तै कुनै निश्चित रुप वा आकार हुँदैन। कुनै आकार र स्वरुप नभएपनि भगवान्मा सर्वशक्तिमान क्षमता रहेको हुन्छ। प्रत्येक वस्तु र प्राणीको आत्मामा भगवान्को अंश हुन्छ।प्रत्येक वस्तु र जीव नै ईश्वर हो पनि भनिन्छ। मानिसमा पनि ईश्वर वा भगवान् हुन्छन्।

भग् धातुमा वान प्रत्यय लागेर भगवान् शब्दको व्युत्पत्ति भएको हो । भगको अर्थ ऐश्वर्य, स्मृति, यश, ज्ञान, त्याग भन्ने हुन्छ । जोसँग ऐश्वर्य, शक्ति, सौर्य, तेज आदि जस्ता गुण छन्, तिनी नै भगवान् हुन् । शाब्दिक रुपमा भ भनेको भूमि, ग भनेको गगन, वा भनेको वायु, अ भनेको अग्नि, न भनेको नीर वा जल हो भनी अर्थ्याएको पनि पाइन्छ । 

नेपाली शब्दकोष अनुसार ऐश्वर्य, सौभाग्य, यश, धर्म, ज्ञान र विराग छ वटा तत्त्वले पूर्ण भएको अलौकिक पुरुषलाई भगवान् भनिएको छ । भगवान् एक छन् तर यिनका अनेक रुप छन् । यस सृष्टिका हरेक तत्त्व वा पदार्थ भगवान्कै अंश हुन् भनिएको छ।देवता र मान्छे पनि भगवान्कै रुप वा अंश हुन् भनिएको छ।

देवता

यस सृष्टिमा रहेका प्राणी,ग्रह,नक्षत्र आदिलाई तिनीहरूमा रहेको विशिष्ट गुण वा शक्तिलाई देवता भनिएको छ। देवता एउटा उपाधि,गुण वा विशेषण हो।पूर्वीय शास्त्रहरूमा शक्ति वा ऊर्जाका आधारमा देवताहरूको प्रकार र नाम दिइएको पाइन्छ।

दिव् धातुबाट देवता शब्द बनेको हो। दिव् को अर्थ प्रकाशमान हुनु हो। जुन प्राणी वा पदार्थले प्रकाश दिन सक्छ,त्यसलाई देवता मानिएको छ। शास्त्रमा भगवान् वा ईश्वरका लौकिक पात्रलाई देवता भनिएको छ। देवताको पुरुष रुपलाई देव र स्त्री रुपलाई देवी भनिन्छ। ऋषिमुनिहरूले शक्तिको श्रोत वा प्रकाशवान पात्र वा पदार्थलाई देवता भनेका छन्। हामी पाञ्चायन देवता भनेर गणेश,विष्णु,सूर्य,दुर्गा र शिवलाई पुज्छौँ।त्यस्तै कुल देवतालाई पनि महत्त्व दिएर पूजा वा श्रद्धा गर्ने गरिन्छ ।

। निरुक्त(७/१५)मा-
देवो दानाद्धा दीपनाद्धा धोतनाद्धा धुस्थानो वा भवती।
अर्थात् जसले हामीलाई कुनै प्रकारले लाभ पुर्याउन सक्छ, त्यसलाई देवता भनिन्छ।

सूर्य,तारा,अग्नि,आकाश,जल,तेज,पृथ्वी आदिलाई देवता मानिन्छ। पूर्वीय शास्त्रहरूमा तेत्तीस कोटि देवता हुन्छन् भनी बताइएको छ।देवताका सङ्ख्याका सन्दर्भमा कोटिको अर्थ करोड नभएर प्रकार हो भन्ने कसैको मत पाइन्छ। तेत्तीस कोटीमा आठ वसु,एघार रुद्र,बाह्र आदित्य, एक इन्द्र र एक प्राण हुन्। वसु भनेको पालन गर्नु हो। आठ वसु भनेका पृथ्वी,अग्नि,वायु, अन्तरिक्ष,आदित्य,द्युलोक,चन्द्रमा र नक्षत्र हुन्।एघार रुद्र भनेका पाँच ज्ञानेन्द्रीय (आँखा,कान,नाक,जिब्रो र छाला), पाँच कर्मेन्द्रीय (बोली,हात,खुट्टा,मलद्वार र मूत्रद्वार) र मन हुन्। 

ऋग्वेदमा मूलतः प्रकृतिलाई देवता मानिएको छ। ऋग्वेदमा इन्द्र, अग्नि, सोम, अश्विन, वरुण, मरुत,उषा, वायु, सावित्री, ऋभु,पुषण, अप्रिस, सूर्य, आप, विष्णु, रुद्र, सरस्वती, विश्वकर्मा, मन्यू, कपिलञ्जल आदिलाई देवता हुन् भनिएको छ । 

वैदिक युगमा सर्वाधिक सम्मान पाउने देवता इन्द्र पर्छन्। ऋग्वेदमा तीनसय भन्दा बढी सूत्तहरू इन्द्रसित सम्बन्धित छन्। इन्द्रलाई शक्तिशाली,अतुल, पराक्रमी, धैर्य, साहसी, बलवीर्य, परोपकारी, मायालु, करुणा भएका देवता मानिएको छ ।

पृथ्वी, जल, अग्नि, वायु, गुरु माता, पिता आदि देवता हुन्। शास्त्रमा मातृदेवो भव, पितृदेवो भव  र आचार्यदेवो भव भनिएबाट माता, पिता र गुरु पनि देवता हुन् भनिएको छ । माता र पिताले जन्माउने, हुर्काउने, बढाउने र पढाउने र गुरुले ज्ञान प्रदान गर्ने हुनाले देवता भनिएको हो । माता, पिता र गुरुलाई भगवानका साक्षात मानव रुपका रुपमा हेरिन्छ। वास्तवमै सबै देवताहरू नै भगवानका रुप हुन् र देवता नै भगवान् पनि हुन् ।

पौराणिक ग्रन्थहरूमा ब्रह्मा,विष्णु र महेश्वरलाई भगवान् भनिएको छ । ॐ अक्षरलाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकको रुपमा चिनिन्छ । भगवान् सत्ययुगमा शिव, त्रेतायुगमा राम, द्वापरयुगमा कृष्ण कलियुगमा बुद्ध, जिसस, अल्लाह, महावीर आदि रुप धारण गरी प्रकट भएका हुन् भनिन्छ । शास्त्रहरूमा ब्रह्माभन्दा विष्णु र महेश्वरका बारेमा व्यापक चर्चा गरिएको पाइन्छ । 

जब पृथ्वीमा पाप बढ्दै जान्छ वा लुटपाट हुन्छ त्यसबेला सृष्टिको पालनकर्ता भनिएका विष्णु आफू विभिन्न अवतारहरूमा प्रकट हुने बताइएको छ । विष्णुका दश अवतारमा मत्स्य,  कूर्म, बराह, नृसिंह, वामन, परशुराम,  राम, कृष्ण, बुद्ध र कल्की हुन् । 

अहिलेसम्म विष्णुका नौ अवतारहरू प्रकट भैसकेका छन् । भविष्यमा कलियुग सकिनु भन्दा आठसय वर्ष पहिले विष्णु दशौँ अवतारका रुपमा कल्कीको रुपमा प्रकट हुने बताइएको छ । भगवान्कै विशिष्ट र खास गुण प्राप्त भएको शक्ति वा जीवलाई देवता भनिएको हो।

मानव 
मानवलाई मानिस, मनुष्य र मान्छे  पनि भनिन्छ। अहिलेसम्मको अध्ययनमा यस ब्रह्माण्डमा पाइने सतासी लाख प्रजाति मध्ये सबैभन्दा चेतनशील प्रजाति मानव हो ।

यस सृष्टिमा मानव वा मानिसको जन्म र विकास कसरी भयो भन्नेमा पूर्व र पश्चिमका अनुसन्धान र अध्ययनहरूमा विभिन्न मतहरू रहेका छन्। पूर्वीय शास्त्रहरू वेद र पुराणमा मानव जातिको उत्पत्तिका बारेमा फरक फरक विवरण पाइन्छन् । मत्स्यपुराण अनुसार ऋषि मनु नै भगवान्द्वारा सृष्टि गरिएका पहिलो पुरुष (पहिलो मानव) थिए। 

भगवान् ब्रह्माले आफ्नो दिव्य शक्तिको प्रयोग गरी देवी शतरुपा(जसलाई पहिले सरस्वती भनिन्थ्यो)को सृष्टि  गर्नुभयो र उहाँ र शतरुपाको मिलनबाट मनुको जन्म भएको हो भनिन्छ। मनुले लामो तपस्या गरेर आफ्नी पत्नी अनन्तीलाई प्राप्त गरे र बाँकी मानव जातिको उत्पत्ति मनु र अनन्तीबाट भएको र उनीहरूका सन्तानका विवरणहरू भागवत पुराणहरूमा पाइन्छ।

प्रथम पुरुष मनुलाई प्राचीन संस्कृत ग्रन्थ  मनुस्मृतिका सर्जक वा लेखक पनि मानिन्छ।केही पुराणहरूमा भने मनुको जन्म भगवान् विष्णुको नाभिबाट निस्केको कमलको फूलबाट भएको हो भनिन्छ ।

पश्चिमका वैज्ञानिकका अनुसार यो पृथ्वी आजभन्दा चार अरब साठी करोड वर्ष पहिले सूर्यबाट टुक्रिएको टुत्रा मानिएको छ।त्यही सूर्यबाट टुक्रिएको एउटा टुत्रा सेलाउँदै गएर कतै जल र कतै स्थल बन्यो र जलमा एक कोषीय,बहु कोषीय र स्तनधारी प्राणी हुँदै मनुष्य जाति एप्सको विकास भएको मानिन्छ। मानव जाति चिपाञ्जीसँग छुटिई भिन्न भएको साठी लाख वर्ष पुगेको छ।हालको विकसित मानव जातिको विकास करिव दशलाख वर्ष भएको छ।

मानिसलाई अङ्ग्रेजीमा ह्युमन भनिन्छ।मानिसको विकास परम्परामा पहिले मानिसलाई होमो सेपियन्स भनिन्थ्यो । त्यही होमबाट ह्युमन भएको मानिन्छ । अहिलेको ह्युमन शब्द ल्याटिनको ह्युमनस, फ्रेन्चको ह्युमेन हुँदै आएको पनि मानिन्छ । मानिसमा अरु प्राणीभन्दा सोच्ने शक्ति फरक छ। मानिसले के ठीक र के बेठीक, के असल र के खराब छुट्याउने सामर्थ्य प्राप्त गरेको छ । 

मानिस विवेकशील प्राणी हो । मानिसमा करुणा,क्षमा,सहयोग र सहानुभूति जस्ता गुण छन्। मानिसमा सिर्जनशीलता, बौद्धिक विश्लेषण गर्ने क्षमता, भाषिक विशिष्टता जस्ता गुणहरू पनि छन् ।

म को हुँ, मेरो कर्तव्य के हो, मैले के गर्नुपर्छ भन्ने जस्ता अद्भूत, बौद्धिक र विवेकशील क्षमता प्राप्त गरेको हुनाले मानिस स्वयंले आफ्नो जीवन कस्तो गराउने र कसरी चलाउने भन्ने निर्णय आफै गर्न सक्छ । 

मानिस पनि असल र सत्कर्म गर्न सक्यो भने देवता र ईश्वर नै बन्न पनि सक्छ । मानिसमा रहेको सिर्जनशील क्षमताकै कारण आज विश्वमा थुप्रै चामत्कारिक आविष्कार हुँदै गएका छन् । 

मानिसले गरेको विकास र चमत्कारकै कारण आज विश्वको अस्थित्वनै सङ्कटमा पर्ने हो कि भन्ने पनि देखिन्छ । आजको समयमा विश्वभरि नै एआईले हलचल मच्चाइ रहेको सन्दर्भमा कतै मानिस आफैँले सिर्जना र आविष्कार गरेको प्रविधिका कारण आफूमा रहेको चेतना र संवेदना नै गुमाउँदै गएर आफ्नै अस्तित्व सङ्कटमा पारिरहेको छैन भन्ने अत्यन्तै गम्भीर र संवेदनशील प्रश्न पनि उठिरहेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ