हिन्दू युवाको गिरफ्तारीप्रति अभियानको आपत्ति, पाँच बुँदे माग
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
988
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रिय एकता अभियान, नेपालले पर्साको वीरगञ्ज छपकैया घटनालाई लिएर गहिरो आपत्ति जनाउँदै शान्तिपूर्ण प्रतिरोधमा उत्रिएका हिन्दू युवाहरूको गिरफ्तारी र सर्वसाधारणमाथिको प्रहरी बल प्रयोगको तीव्र भर्त्सना गरेको छ ।
वीरगञ्ज महानगरपालिका–२, छपकैया क्षेत्रमा वैशाख ३० गते हनुमान जन्मोत्सवको अवसरमा आयोजना गरिएको धार्मिक शोभायात्रामाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै अभियानले यसलाई "बहुल सांस्कृतिक, सहिष्णु र लोकतान्त्रिक समाजमाथिको संगठित आक्रमण"को रूपमा व्याख्या गरेको छ।
अभियानका अनुसार, घटनामा संलग्न वास्तविक दोषीहरूलाई कारबाही नगरेको राज्य संयन्त्रले उल्टै त्यसविरुद्ध आवाज उठाएका हिन्दू युवाहरूलाई वैशाख २ गते गिरफ्तार गरेको र उक्त गिरफ्तारीप्रति अभियान गम्भीर आपत्तिमा रहेको जनाएको छ ।
झन् दुर्भाग्यपूर्ण पक्ष भनेको ती युवाहरूको रिहाइको माग गर्दै शान्तिपूर्ण रूपमा जिल्ला प्रहरी कार्यालयमा उपस्थिति जनाएका सर्वसाधारण नागरिकहरूमाथि समेत प्रहरीले बल प्रयोग गरी लाठीचार्ज गरेको भन्दै अभियानले त्यसलाई संविधानको उल्लङ्घन भनेको छ।
अभियानले नेपाल सरकारसमक्ष पाँच बुँदे मागसमेत अघि सारेको छ:
१. गिरफ्तार गरिएका सम्पूर्ण हिन्दू युवाहरूको अविलम्ब र बिना सर्त रिहाइ।
२. शोभायात्रामाथि आक्रमण गर्नेहरूलाई राष्ट्रविरोधी गतिविधि, धार्मिक घृणा र सामाजिक सद्भाव खल्बल्याउने अभियोगमा कडा कारबाही।
३. प्रदर्शनकारीहरूमाथि बल प्रयोग गर्ने प्रहरी अधिकृतहरूविरुद्ध निष्पक्ष छानबिन र कानुनी कारबाही।
४. धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन रणनीति निर्माण।
५. धार्मिक सहिष्णुताको संरक्षण र अतिवाद तथा घृणाप्रेरित विचारधाराविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन।
अध्यक्ष विनय यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “धार्मिक स्वतन्त्रता, सामाजिक समावेशिता र राज्य संयन्त्रको निष्पक्षता सुनिश्चित गर्न यस्ता घटनाहरूको समयमै सम्बोधन अनिवार्य छ। यदि नागरिकहरूको प्रतिरोधलाई दमन गरिँदै जाने हो भने राष्ट्रिय एकता र लोकतान्त्रिक अभ्यासमा गम्भीर संकट उत्पन्न हुनेछ।”
अभियानले नागरिकहरूको विश्वास कायम राख्न उपर्युक्त मागहरूको शीघ्र सम्बोधन गर्न सरकारको तत्काल ध्यानाकर्षण गराएको छ ।