arrow

पूर्वीय र पाश्चात्य दर्शन 

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ वैशाख ६ शनिबार
rajendra-panthi-82-1-6.jpg

दर्शन

दर्शन ज्ञानको आधार हो । दर्शनले जीवन र जगतलाई बाटो देखाउँछ। दर्शन सम्पूर्ण विषयको आधारशिला हो।दर्शनभित्र विशाल अर्थ रहेको हुन्छ। यो सानो आलेखमा पूर्व र पश्चिममा विकसित भएका दर्शनका बारेमा समेट्न सकिँदैन । यहाँ केवल पूर्व र पश्चिममा स्थापित दर्शनहरूका बारेमा सङ्क्षेपमा विमर्श गरिएको छ । सामान्य अर्थमा दर्शन भनेको हेर्नु वा देख्नु भन्ने बुझिन्छ । बृहत् अर्थमा जीवन र जगतलाई हेर्ने वा देख्ने विश्व दृष्टिकोणलाई दर्शन भनिएको छ । 

मानिसको चर्मचक्षुले नभएर ज्ञानचक्षुले विश्व ब्रह्माण्डलाई हेर्ने र सत्य पत्ता लगाउने क्रियालाई दर्शन भनिन्छ । कुनै वस्तु, घटना, व्यक्ति, व्यवहार, विचार, सिद्धान्तलाई हेर्ने दृष्टिकोणलाई दर्शन भनिन्छ । दर्शन भनेको के हो भन्ने सम्बन्धमा सबै विद्वान र वैज्ञानिकहरूको एकमत भने छैन ।

दर्शन तत्सम शब्द हो । यसको व्युत्पत्ति दृश धातुमा अन प्रत्यय लागेर बनेको हुन्छ । दृश भनेको देख्नु भन्ने बुझिन्छ । दृश्यते अनेन इति दर्शन भनिएबाट दर्शनको अर्थ दृष्टिको माध्यम वा साधन भन्ने बुझिन्छ । दर्शनलाई अङ्ग्रेजीमा फिलोसोफी भनिन्छ । यो शब्द ग्रीक भाषाका दुई शब्द फिलोस र सोफियाबाट बनेको हो । फिलोसको अर्थ मोह र सोफियाको अर्थ ज्ञान भन्ने बुझिन्छ । ज्ञान प्राप्तिको मोहलाई फिलोसोफी भनिएको छ ।

मानव सभ्यताको शुरुआतबाटै दर्शन आएको पाइन्छ । दर्शन शब्दकै पहिलो प्रयोग गर्ने व्यक्ति पाइथागोरस हुन् । पाइथागोरसले यो शब्दको प्रयोग इ.पू. ५८० मा गरेका थिए । पाइथागोरस एक गणितिज्ञ, दार्शनिक र धार्मिक व्यक्तित्व थिए । उनले सबै वस्तुहरूलाई सङ्ख्या हुन् भनेका छन् ।

दर्शन एक अमूर्त चिन्तन हो । दर्शनबाट आत्मा, परमात्मा, जीवन, जगत्, प्रकृति जस्ता कुराको रहस्य थाहा पाउन सकिन्छ । दर्शनले विश्व ब्रह्माण्ड बारेमा हेर्ने,देख्ने,बुझ्ने, व्याख्या गर्ने र सत्यापनको निरुपण गर्ने गर्दछ । धर्म, ज्ञान, इतिहास, साहित्य, कला,  नीति, संस्कृति, विज्ञान, जीवन, व्यवहार आदि दर्शनका विषय हुन्।दर्शनको अध्ययन गरी सत्य प्रतिपादन गर्ने व्यक्तिलाई दार्शनिक भनिन्छ । दार्शनिकहरूले सृष्टि वा मानव सभ्यताको सुरुवातदेखि नै जीवन र जगतका विविध विषयमा रहस्यात्मक अध्ययन,अनुसन्धान गरेका छन् । दर्शन वास्तविक र सत्यज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो । यसले समग्र जीवन र जगतको व्याख्या,विश्लेषण,चिन्तनमनन गर्दछ र सत्य प्रमाण पत्ता लगाउँछ।विश्वमा प्रचलित दर्शनलाई प्रतिपादन गरिएको स्थान वा भूभागका आधारमा दर्शनलाई  मुख्य रुपमा दुई प्रकारमा वर्गीकरण गरिएको छ।ती हुन-पूर्वीय र पाश्चात्य दर्शन ।

पूर्वीय दर्शन भक्ति, ध्यान, ज्ञान, आध्यात्मिक तथा परलौकिक विषयमा केन्द्रित छ । समाजलाई सदाचार, न्याय, सत्य, अनुशासन, आत्मा र परमात्मा जस्ता ज्ञान दिन यो दर्शन विकास भएको देखिन्छ । यस दर्शनले मानिसको दैनिक जीवनका व्यवहारिक, सामाजिक र सांस्कृतिक पक्षमा बढी जोड दिएको पाइन्छ ।

पूर्वीय दर्शन
पूर्वीय दर्शन सबैभन्दा पुरानो दर्शन हो । पूर्वीय दर्शन व्यापक छ । पूर्वीय दर्शनमा प्राचीन-अर्वाचीन, हिन्दू-गैरहिन्दू, आस्तिक-नास्तिक सबै समाहित छन् । यसमा षड्दर्शन (सांख्य, वैशेषिक, योग, न्याय, मीमांसा र वेदान्त) देखि चार्वाक, बौद्ध र जैन दर्शनसँगै वैदिक र गीतासम्मलाई स्थान दिएको पाइन्छ । पूर्वीय दर्शनमा प्रमुख शास्त्रीय ग्रन्थहरू वेद, ब्राह्मण, आरण्यक, उपनिषद्, गीता, पुराण आदिमा वर्णन गरिएका विचारलाई आधार मानिएको छ ।

खासगरी भूगोलमा एसिया र महाभारतबाट प्रतिपादित र विकसित भएको दर्शनलाई पूर्वीय दर्शन भनिन्छ । पूर्वीय दर्शनको मुख्य आधार स्रोत भनेको सर्वप्राचीन ग्रन्थ वेद नै हो । यसमा आस्तिक र नास्तिक गरी दुई खण्ड छन् । आस्तिकमा खासगरी षड्दर्शन र नास्तिकमा जैन, बौद्ध,चार्वाक आदि दर्शन  पर्दछन् ।

साङ्ख्य दर्शन कपिलमुनिले प्रतिपादन गरेको दर्शन हो।साङ्ख्यको शाब्दिक अर्थ सङ्ख्या वा अङ्क हुन्छ।साङ्ख्यको अर्थ तत्त्वहरूको ज्ञान हो। यस दर्शनले प्रकृतिमा हुने सत्व,रज र तम गुणहरूको प्रतिक्रियाबाट प्रकृतिको विकास हुने बताएको छ। यो नास्तिक दर्शन हो । यसले एउटा पुरुष(आत्मा वा चेतना) र अर्को प्रकृति(शरीर वा पदार्थ) हुन्छ भनेको छ । साङ्ख्य दर्शनमा २५ तत्त्वको व्याख्या गरिएको छ,ती हुन्-प्रकृति,पुरुष,अन्तकरण (मन,बुद्धि,अहंकार), पञ्चज्ञानेन्द्रीय (नाक, जिब्रो, आँखा, छाला,कान), पञ्चकर्मेन्द्रीय (मुख, हात,खुट्टा,  गुदद्वार, मूत्रद्वार),  पञ्चन्मात्रा (गन्ध,रस,रुप,स्पर्श,शब्द), पञ्चमहाभूत (पृथ्वी,जल,अग्नि,वायु,आकाश) ।

न्याय दर्शनको प्रतिपादन गौतम ऋषिद्वारा गरिएको थियो । यो दर्शन ईसाको चौथो शताब्दीमा जन्मिएको थियो । न्याय दर्शनका बारेमा प्रतिपादन गरिएको ग्रन्थ न्यायसूत्र हो । न्याय शब्दको अर्थ वादविवाद हो । दुई विपरीत विचार तथा मान्यताहरूलाई तर्कका आधारमा एकअर्कामा प्रतिवाद गर्दै न्यायोचित निकास कसरी सम्भव हुन्छ भन्ने कुरा नै न्याय दर्शन मूल उद्देश्य हो । यस दर्शनले प्रमाण र तर्कलाई मुख्य मानेर जीवन र जगतको अध्ययन गर्दछ । यस दर्शनले ज्ञानलाई यथार्थ र भ्रम गरी दुई किसिमका हुन्छन् भनेको छ । यथार्थ ज्ञान मुख्य हो,जुन परीक्षणबाट प्रमाणित गर्न सकिन्छ। ज्ञानका प्रमाणहरू प्रत्यक्ष, अनुमान, उपमा र शब्द हुन् भनिएको छ।

योग दर्शनका प्रतिपादक महर्षि पतञ्जली हुन् । शरीर र मनलाई जोड्नु वा आत्मालाई परमात्मासँग जोडनुलाई योग दर्शन भनिएको छ।परमात्मा प्राप्तिका लागि आठ वटा योगका विधिहरू बताइएका छन्, ती हुन्-यम, नियम, आसन, प्रणायम, प्रत्याहार, धारण, ध्यान र समाधि ।

वैशेषिक दर्शनका प्रणेता महर्षि कणाद हुन् । यो भौतिकवादी दर्शन हो । यस दर्शनले कुनैपनि पदार्थमा विशिष्ट गुणहरू हुन्छन् भन्छ । यस दर्शनले पृथ्वी, जल,अग्नि र वायुका परमाणु शाश्वत हुने र यिनीहरू कहिल्यै नष्ट नहुने तर्क राख्दछ । यो दर्शनले परमाणुलाई जीवन जगतको मुख्य आधार मान्दछ । परमाणु अविभाजित सूक्ष्म अणु हो।यस दर्शनले वस्तुका एकअर्काका विशिष्ट विशेषताको पहिचान गराउँछ ।

मीमांसा दर्शन जैमिनीद्वारा प्रतिपादित दर्शन हो।यस दर्शनमा २५ सय श्लोक छन् । इन्द्रियबाट सिधा सम्पर्क भएर प्राप्त हुने ज्ञान प्रत्यक्ष ज्ञान हो भन्ने कुरा यस दर्शनले स्थापित गरेको छ।यो दर्शन वेदमा उल्लेख भएका विषयवस्तु व्याख्या गर्न र वेदको अस्तित्वमाथि आएको सङ्कट समाधान गर्न आएको दर्शन हो।मीमांसा भनेको अनुभव र तर्कबाट कुनै विषयवस्तुको मूलतत्त्व पत्ता लगाउनु हो ।

यस दर्शनले प्रमाणहरूलाई ज्ञान प्राप्तिको आधार मान्दछ । यसले अनुमान, उपमान, शब्द र घटनालाई ज्ञान प्राप्तिको श्रोत मान्दछ । यो भौतिक जगत स्वचालित भएको हुनाले यसलाई सञ्चालन गर्न कुनै तत्त्वको आवश्यकता पर्दैन । यस दर्शनले मानिसले नित्य, नैमित्तिक, काम्य, निषिद्ध र प्रायश्चित गरी पाँच कर्मबाट मोक्ष प्राप्त गर्न सक्छ भनेको छ।

वेदान्त दर्शन सम्पूर्ण वेदको अन्तिम भाग वा निष्कर्ष (१०८ वटा उपनिषद) वेदान्त दर्शन हो । यी उपनिषदलाई समेटेर एउटै ग्रन्थ ब्रह्मसूत्र बनाउने काम महर्षि वादनारायणले गरे र पछि शंकराचार्यले वेदान्तको भाष्य तयार गरे । यस दर्शनबाट जीवनको मुख्य लक्ष्य भनेको मोक्ष प्राप्त गर्नु नै हो भनिएको छ । यस दर्शनले ४ वटा आत्माका अवस्था (जागृत, स्वप्न, प्रज्ञा र तुर्य) र मानिसमा रहेका पञ्चकोष (अन्नमय, प्राणमय, मनमय, विज्ञानमय र आनन्दमय) को सक्रियता अनुसार सत्यको अनुभूति हुने गर्छ भनी व्याख्या गर्छ ।

पूर्वीय दर्शन भित्र पर्ने चार्वाक,बौद्ध जैन,कन्फ्युसियस, ताओ दर्शनले वेदलाई मान्दैनन् । यी अवैदिक दर्शन हुन् तापनि केही न केही रुपमा अध्यात्मलाई मान्छ्न् । चार्वाक दर्शनले जगतलाई सत्य मान्दछ । यसले भौतिकवादी जगतमा विश्वास गर्छ । यो दर्शनको जन्म ईसापूर्व आठौँ शताब्दीदेखि ईसाको छैटौँतिर भएको मानिन्छ । यसले शरीर नै आत्मा हो भन्दछ । शरीरको मृत्युपछि आत्माको पनि नाश हुन्छ भनेको छ । यसले ईश्वर र परलोक मान्दैन ।

जैन दर्शन अहिले जैन धर्मको रुपमा विकसित भएको छ । जैन शब्द जिनबाट बनेको हो । जिन शब्द संस्कृत जीबाट बनेको हो । जीको अर्थ जित्नु भन्ने हो । आफ्नो मन, शरीर, वाणीलाई जितेर आत्मज्ञान गरेकालाई जिन भनिन्छ । जैन धर्म भगवान् जिनको धर्म हो ।

जैनको अर्को पर्यायवाची शब्द  अर्हत वा अरहन्त हो । यो दर्शन ईसापूर्व छैटौँ शताब्दीमा प्रवर्तन भएको हो।यसका प्रवर्तक ऋषभदेव हुन्।यिनलाई जैनहरू प्रथम तीर्थङ्करका रुपमा मान्दछ्न्।यस धर्ममा तीर्थङ्करलाई भगवान सरह मान्दछन्।यस धर्ममा २४ जना तीर्थङ्करहरू शृङ्खला रहेको छ । २४ औँ तीर्थङ्कर महावीर हुन् । जैनधर्मको प्रमुख ग्रन्थ आगम हो । यसमा महावीरले दिएका शिक्षा तथा यसैसँग सम्बन्धित धेरै कथाहरू छन् । अहिंसा नै जैन धर्मको आधारभूत सिद्धान्त हो।

त्यस्तै बौद्ध दर्शनका जन्मदाता गौतम बुद्ध हुन् । यो अनिश्वरवादी दर्शन हो । यो पनि अहिले धर्मका रुपमा विकास भएको देखिन्छ । यसले भौतिक जगतको उत्त्पति र विकास  भन्दा पनि मानव जीवनमा घट्ने घटनाक्रमको व्याख्या गरेको छ । मान्छेलाई दु:ख छ, दु:खका कारण छन् र दु:ख हटाउने उपाय छन् भन्ने दर्शन नै बौद्ध दर्शन हो ।

कन्फ्युसियस दर्शन ईपू ५५१  चीनमा विकास भएको दर्शन हो । यस दर्शनले नैतिक आचरणले दु:ख, कष्ट, झगडा, झमेला आदिबाट मुक्त हुन सकिन्छ भनेको छ । 

त्यस्तै ताओ दर्शन पनि चीनमा विकसित दर्शन हो । यसका प्रवर्तक लाओत्से हुन् । यसले अन्तरिक्षमा रहेको एउटा महाशक्ति नै सृष्टिको स्रोत हो भन्दछ । त्यही महाशक्ति नै ताओ हो भनिन्छ । ताओ नै मुक्तिको बाटो भनिएको छ । यसका लागि नैतिकता, इमान्दारिता, अहिंसा आदि गुणहरू आवश्यक पर्दछ्न् ।

पाश्चात्य दर्शन
पाश्चात्य दर्शनलाई पश्चिमी दर्शन पनि भनिन्छ। यो दर्शन पूर्वीय दर्शनकै जगमा नै विकास भएको मानिन्छ।पश्चिमी शब्दले सामान्यतया युरोप,उत्तरी अमेरिका,अस्ट्रेलियालाई जनाउँछ। पश्चिममा पनि थुप्रै दर्शनहरू प्रतिपादन भएका छन् । यी दर्शनहरूलाई वाद र विचार भनेर पनि चिनाइएको पाइन्छ ।

पश्चिममा केही वादकै रुपमा विचारधाराहरू पनि विकसित भएका छन् । पश्चिममा खासगरी आदर्शवाद, प्रकृतिवाद, यथार्थवाद, प्रयोजनवाद, व्यवहारवाद, प्रगतिवाद, अस्तित्ववाद, विसगङ्तिवाद,बहुलवाद आदि दर्शनहरू विकसित भएका छन् ।

पाश्चात्य दर्शन वा वादहरूको विकासक्रमलाई निम्नानुसार तीन कालमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ।

(क) प्राचीन काल (ईसापूर्व ५०० सम्म):-सोक्रेटसदेखि अरस्तुसम्म।
(ख) मध्यकाल (ईसापूर्व ५०० देखि लगभग १५ औं शताब्दीसम्म):-प्लेटो,अगस्टिन,सेन्ट थोमस,अक्कानिस आदि।
(ग) आधुनिक काल (१५ देखि १९औँ शताब्दीसम्म):-देकार्त, जोहन लक, हेगेल, कार्ल माक्स, रुसो आदि।
(घ) आधुनिकोत्तर काल (२०औँ देखि हालसम्म):-ज्या पाँल सात्र, मिसेल फुको, डेरिडा, लिओतार, रसेल, रुसविग, हेडेगर, हान्ना, अरेन्ट आदि।

पश्चिमका विभिन्न वादहरूमध्ये पहिलो वाद आदर्शवाद हो। यस वादका व्याख्याता सोक्रेटस, प्लेटो, अगटाइन, रेन, डेस्कार्टे, हेगेल आदि हुन् । यो पूर्वमा जस्तै अध्यात्मवाद र ईश्वरको अस्तित्वलाई स्वीकार्छ । यस दर्शनले आत्मा, विचार, चेतनालाई प्रधान मान्दछ । 

प्रकृतिवादी दर्शनले ज्ञानको सम्पूर्ण स्रोत प्रकृतिलाई मान्दछ।प्रकृतिवादका जन्मदाता थेल्स्ले भएपनि ईसापूर्व छैटौँ शताब्दीतिर रुसोले यसवादलाई धेरै उचाईमा पुर्याएका थि ए। रुसोले प्रकृति रहेका वस्तु, घटना नै सत्य हुन्, यहाँ ईश्वरको कुनै अस्तित्व हुन्न भनेका छन् । 

उनले ज्ञानको स्रोत नै प्रकृति हो भनेका छन् । यथार्थवादी दर्शनका पिता एरिस्टोटल हुन् । यस दर्शनले भौतिक वा दृश्य जगत नै सत्य हो भनेको  छ। यस वादका व्याख्याता न्यूटन, ग्यालिलियो, बेकन आदि हुन् । 

पश्चिममा प्रयोजनवादको जन्मदाता विलियम जेम्स हुन् । यस वादले कुनै कुरा,वस्तु वा विचार आदिलाई सोझै स्वीकार नगरी त्यसलाई अभ्यासद्वारा लागू गर्दछ । यस वादले अभ्यास, उपयोगिता, व्यावहारिकतामा विश्वास गर्दछ । यो वाद सत्य केहो भन्ने कुरामा भन्दा के उपयोगी छ भन्नेमा केन्द्रित छ । यस वादको विकासमा जोन डिवे, चाल्स पेयर, स्किलर, डब्ल्यूएचपेट्रिक जस्ता दार्शनिकहरूको योगदान रहेको छ।  (लेखक पन्थी अमेरिकाको भर्जिनियामा श्रमरत छन्)

क्रमशः



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ