सिंहदरबारभित्रै राप्रपाको प्रदर्शन, लिङ्देन, तामाङ र शाही पक्राउ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
799
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पाका नेता एवं सांसद दिपकबहादुर सिंहले पार्टीले निषेधित क्षेत्र तोडिसकेको बताएका छन् । बिजुलीबजारमा आएर राप्रपाका नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले सिंहदरबारबाटै आफू आएकाले सिंहदरबारको निषेधित क्षेत्र तोडेरै आएको बताए ।
उनले आफ्ना नेताहरु सिंहदरबारभित्रबाटै पक्राउ परेको बताउँदै सिंहदरबारभित्रैको निषेधित क्षेत्र तोडेपछि बाहिरको क्षेत्र केही पनि नभएको बताए । सिंहदरबार भित्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही प्रक्राउ परेका हुन् ।
सिंहले पक्राउ परेका राप्रपाका नेताहरुलाई तत्काल नछाडे त्यसको परिणाम भोग्न तयार हुन सरकारलाई चेतावनीसमेत दिएका छन् ।
राप्रपाले यसअघि विभिन्न निषेधित क्षेत्र तोड्ने बताए पनि अन्तिममा आएर बानेश्वरलाई प्राथमिकता दिएको हो ।
राप्रपासहितका राजावादीहरुले नेपालमा राजसंस्था पुनस्थापना गर्नका लागि आन्दोलन गरेका हुन् । यसअघि गत चैत १५ गते भएको हिंसात्मक आन्दोलनमा दुई जनाको ज्यान जानुका साथै सय भन्दा बढी घाइते भएका थिए ।
त्यो दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणा पक्राउ परेका थिए । उनीहरु अहिले पनि हिरासतमै रहेका छन् ।
राप्रपाले पक्राउ परेका सबै नेता कार्यकर्ता तत्काल रिहा नभए कडा कदम चाल्नेसमेत बताएको छ ।
राप्रपाले शुरुआतमा आइतबार सबै नेताहरुले गिरफ्तारी दिने बताएको भए पनि पछि भने सबैले गिरफ्तारी दिँदा बाहिर आन्दोलन अनियन्त्रित हुन सक्ने भयका कारण सबैले गिरफ्तारी नदिने निर्णय गरेको थियो ।