कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउँछौँ : अध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
536
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।
नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरू एक्सप्लोर गर्न बाँकी रहेको हुँदा ती क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताएका छन्। “मलाई के लाग्छ भने नेपालमा धेरै सम्भावना छ। धेरै क्षेत्रहरू एक्सप्लोर गर्न बाँकी छन्। तर, नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रूपमा लिने गरिएको पाइन् । अझ, विदेशमा बस्ने नेपालीहरूलाई विदेशको विकास र प्रविधिहरू देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन् । म यहाँहरूलाई भन्न चाहन । यदि साँच्चिकै विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्,” उनले भने।
उनले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्ताहरूमा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको उल्लेख गरे। “हालै नेपाल सरकारले दुई दर्जन बढी कानुनहरू सुधार गरेर मुलुकमा लगानीका लागि मार्ग प्रशस्त गर्न खोजेको छ। यो निजी क्षेत्र, विशेष गरी नेपाल उद्योग वाणिज्य महासङ्घकै पहलमा भएको हो। म नेतृत्वमा आएदेखि नै हामीले मुलुकमा लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन विशेष पहल गरिरहेका छौँ। वैदेशिक लगानीका साथै गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले पनि आफ्नो केही हिस्सा नेपालका विभिन्न क्षेत्रमा लगानी गराउन सकियो भने हामीले अपेक्षा गरे जस्तो विकास सम्भव हुन् । मुलुकको विकास तपाई हामी सबै मिलेरै गर्ने हो,” उनले भने।
उनले मुलुकभित्र लगानी गरेर उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सहयोग गर्न समेत गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई आग्रह गरे। “तपाईँहरूले यहाँ धेरै राम्रो गर्नुभएको छ। तपाईँहरूले आफ्नो पुँजीको केही अंश मात्र भए पनि नेपालमा लगानी गरेर त्यहाँ उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सघाउनुभयो भने पक्कै पनि हाम्रो विकासको गति तीव्र पार्न सकिन्छ। तपाईँहरू सबै केही समयपछि पक्कै पनि नेपाल नै फर्कनुहुन्छ। त्यस बेला त्यो लगानीले तपाईँहरूलाई पनि सपोर्ट गर्न सक्छ। त्यसबाट आउने प्रतिफलले तपाईँहरूको जीवन सहज बनाउन सहयोग गर्नेछ,” उनले भने।
उनले बागलुङदेखि आएर अहिले नेपालको निजी क्षेत्रको छाता सङ्गठनको नेतृत्वमा पुगेको र विभिन्न कम्पनी मार्फत २५ हजार बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको आफ्नै उदाहरण दिँदै मिहिनेत, लगनशीलता र इमानदारितासाथ काम गरेमा नेपालमा धेरै सम्भावना रहेको पुनः दोहोर्याए।
उनले वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै उक्त कम्पनीमा लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आग्रह समेत गरे।
यस कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरूको छरिएर रहेको पुँजी सङ्कलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानी गर्न गइरहेको जानकारी गराउँदै ढकालले त्यसमा सहभागिताका लागि विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।
उनले नेपालमा लगानीको वातावरण सुधार हुँदै गरेको उल्लेख गर्दै हालै नेपाल सरकारले गरेको कानुन सुधारले मुलुकमा लगानीको वातावरण बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले मुलुकमा सम्भावना छैन र विदेशी लगानीले मात्र विकास गर्न सकिन्छ भन्ने दुवै भाष्य चिर्न आवश्यक रहेको बताउँदै १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्वदेशी पुँजीमार्फत ठूलाठूला पूर्वाधार परियोजना निर्माणमा लगानी गरिने जानकारी गराए। “विभिन्न विकसित मुलुकसँग तुलना गरेर मुलुकमा सम्भावना नै छैन भन्दै हिँड्ने र ठूलाठूला पूर्वाधार परियोजनाहरू विकास गर्न विदेशी लगानी नै आवश्यक पर्छ भन्ने दुवै भाष्य गलत छन्। यिनलाई चिर्न जरुरी छ । हामीले छरिएर रहेको सानो सानो पुँजी सङ्कलन गर्दै हाम्रै पुँजीबाट पनि ठूलाठूला आयोजनामा लगानी जुटाउन सम्भव छ। हामीले स्थापना गरेको १० अर्ब रुपैयाँलाई इक्वीटी मानेर ७५ देखि ८० प्रतिशत ऋण लिने हो भने ४० अर्बभन्दा बढी लगानी गर्न सकिन्छ । जसबाट धेरै ठूला परियोजनामा पनि लगानी जुटाउन सम्भव छ,” उनले भने।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायत विभिन्न वक्ताहरूले सम्बोधन गरेका थिए।