arrow

धवल पनि छुटेसँगै पछि हट्दै राप्रपा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
rpp-raprapa.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पछि हट्दै गएको छ । राजसंस्था पुनस्थापना र हिन्दूराज्य कायम नभएसम्म सडक आन्दोलन तताइरहने उद्घोषसहित थालेको अप्रिल क्रान्ति (चैतमा थालिएको आन्दोलन) तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री एवं सांसद डा धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएपछि केही शान्त देखिएको हो । 

राणा उपचार प्रयोजनका लागि आइतबार साँझ रिहा भएका हुन् । क्यान्सरका बिरामी राणा उपचारका लागि भारत जाने छन् । 

उनीमाथि लागेको आरोपबारे भने प्रहरीले अनुसन्धान जारी नै राख्नेछ । उनी हाजिरी जमानीमा रिहा भएका हुन् । 

राणाको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिइ ढिलै भए पनि हाजिर जमानीमा रिहा गरिनु स्वागतयोग्य रहेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताएका छन् । 

तर पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र अन्य राजावादीहरु भने थुनामै छन् । 

राप्रपाले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा जिम्मेवार भन्दै पक्राउ परेका सबैलाई रिहा गर्न माग गर्दै आएको छ । 

बैशाख ७ गते आइतबार राप्रपाले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्ने योजना बनाएको भए पनि असफल भयो । उसले काठमाडौँका सबै निषेधित क्षेत्र तोड्ने दाबी गरेको थियो । 

तर गृहमन्त्रालयले अघिल्लै दिन संविधान र कानूनको उल्लंघन स्वीकार्य नहुने भनी चेतावनीयुक्त विज्ञप्ति जारी गरेपछि राप्रपा हच्कियो । 

शुरुआतमा राप्रपाका सबै नेताहरुले सामूहिक गिरफ्तारी दिने बताएका थिए । तर शनिबार राति भने त्यसो गर्दा आन्दोलन कमजोर हुने भन्दै सीमित नेतालेमात्र गिरफ्तारी दिने निर्णय गर्यो । 

त्यतिमात्र होइन राप्रपाले निषेधित क्षेत्र सबै ठाउँबाट जुलुस निकाल्ने निर्णय पनि आइतबार बिहानमात्र परिवर्तन गर्यो । उसले बिजुलीबजारमा भेला भएर बानेश्वरको निषेधित क्षेत्र तोड्ने जनाउ दियो । 

बाहिर जतिसुकै उग्र सन्देश दिए पनि सरकारले सुरक्षा व्यवस्था निकै कडा पार्ने र आन्दोलनले सीमा नाघे कडा प्रतिकार गर्ने लक्ष्य लिएर सुरक्षाकर्मी खटाएसँगै राप्रपा थप हच्कियो । 

उसले धेरै जमात बिजुलीबजारमा जान पनि दिएन । त्यतिमात्र होइन सबै नेताहरुलाई फिल्डमा आउन पनि भनेन । 

सांकेतिकरुपले सबैभन्दा मजबुद निषेधित क्षेत्र सिंहदरबारमै निषेधाक्षा तोड्ने संकेत स्वरुप राप्रपाले सिंहदरबारभित्र भएको आफ्नो संसदीय दलको कार्यालयमा नाराबाजी गरेर गिरफ्तारी दियो । 

एक सांसदका अनुसार त्यहाँ पनि संयम अपनाइयो । सीमित नेतामात्र अगाडि लागे अरु पछि नै बसे । 

जसको फलस्वरुप राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाहीमात्र पक्राउ परे । 

उनीहरुलाई पनि प्रहरीले चार घण्टापछि छाड्यो । 

रिहा हुनासाथ राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना पक्राउ परेका नेता कार्यकर्ता रिहा नहुन्जेल आन्दोलन कायम रहने बताए । 

उनको भनाइले राप्रपा पछि हटेको संकेत दिइरहेको छ । राजसंस्था पुनस्थापना नहुन्जेल आन्दोलन गर्ने बताएको राप्रपाले एकाएक नेता कार्यकर्ता नछुटुन्जेल आन्दोलन गर्ने भनेसँगै पार्टी एक कदम पछि हट्यो भन्ने बुझाउँछ । 

अझ वरिष्ठ उपाध्यक्ष मिश्र हाजिर जमानीमा छुट्न बाँकी नै छ । तर आन्दोलनले तत्काल ठूलो रुप लिने अवस्था देखिन्न । 

राप्रपाको यो पछि हट्ने कदम सशक्त हुनका लागि पनि भएको हुन सक्ने आँकलन गर्न सकिन्छ । एक राप्रपा सांसदको भनाइलाई विचार गर्ने हो भने राप्रपालाई सशक्त बनाउन शक्ति सञ्चय गर्ने उद्धेष्यले स्वर क मगर्ने रणनीति लिइएको पनि हुन सक्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ