सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
974
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले ‘पेन्सनप्राप्त’ कर्मचारीले राजनीतिक वा अन्य कुनै नियुक्ति पाउँदा एउटा मात्र सुविधा लिन पाउने व्यवस्था गर्नुपर्ने बताए । उनले अवकाशप्राप्त कर्मचारीले राजनीतिक नियुक्ति लिएर पनि सुविधा लिने, निवृत्तिभरण पनि लिने, ७० वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता समेत लिने गरेको उल्लेख गर्दै अब दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने, ‘यदि राजनीतिक अथवा अन्य कुनै पनि नियुक्तिमा गयो भने ‘पेन्सनप्राप्त’ कर्मचारीले दुई वटामध्ये कुन धेरै हुन्छ त्यो लिओस् । त्यो उसको आफ्नो विषयवस्तु भयो । दुई वटा, तीन वटा लिन पाउँदैन । उपसमितिमा पनि राजनीतिक नियुक्ति लिएर पनि सुविधा लिने, निवृत्तिभरण पनि लिने, कतिपय त गाउँमा गएर ७० वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पनि लिने यस्ता पनि कुराहरू आएका छन् । यो व्यवस्थित छैन । एउटा मात्र सुविधा लिने व्यवस्था गरिनु पर्दछ ।’
यसअघि नै मन्त्रिपरिषद्ले पनि सेवा निवृत्त कर्मचारीलाई दोहोरो सुविधा नदिने निर्णय गरेको भए पनि त्यो निर्णय पूर्णरूपमा कार्यान्वयन भएको छैन ।