सशस्त्र कडा सुरक्षाबीच ल क्याम्पसको मतदान सम्पन्न [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
944
Shares
काठमाडौँ । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन सम्पन्न भएको छ । सोमबार बिहान ८ः४५ बजे शुरु भएको मतदान साँझ ५ः४५ बजेसम्म चलेको थियो । विद्युतीय प्रक्रियाबाट भएको मतदानमा १६ सय ४० को हाराहारीमा मत खसेको छ ।
दुई हजार नौ सय १८ विद्यार्थी भए पनि उक्त संख्यामा मात्रै सहभागी भएका हुन् । जसमा बीएएलएलबी, एलएलबी र एलएलएमका विद्यार्थीहरु रहेका छन् । सबैभन्दा धेरै एलएलबीका विद्यार्थी छन् ।
निर्वाचन समितिका अनुसार एक घण्टाको विश्रामपछि सर्वपक्षीय बैठक बसेर मतगणना प्रक्रिया अगाडि बढ्ने छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा क्याम्पसहरुमा गत चैत ५ गते निर्वाचन भए पनि ल क्याम्पसमा भने समयमा चुनाव हुन सकेको थिएन ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चुनाव गर्नका लागि अदालतमा दिएको उजुरीमा सुनुवाइ गर्र्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी गरेसँगै सोमबार मतदान भएको हो ।
यसपालि नेविसंघ एक्लै प्यानलसहित चुनावमा खडा भएको छ भने अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी एकता भएको छ ।
मतदान भने कडा सुरक्षाबीच भएको हो । जनपदसँगै सशस्त्र प्रहरीले हतियारसहित घेरा हालेर मतदान गराएका थिए ।