arrow

ल क्याम्पसको नेतृत्व अनेरास्ववियुलाई, नेविसंघ र क्रान्तिकारीमा आन्तरिक धोका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
law-campus-election-2082i.jpg

काठमाडौँ । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मिश्रित परिणाम आएको छ । कडा सुरक्षाबीच विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा अध्यक्ष एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जितेको छ । 

अनेरास्ववियुका समिर रिजालले अध्यक्षमा चुनाव जितेका हुन् । उनले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका मोहम्मद माजिद प्रवेज (एमडी) र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका प्रदीप विकलाई हराए । समिरले ८७१ मत ल्याउँदा एमडीले ७५७ तथा प्रदीपले १७ मत ल्याए । 

सचिवमा नेविसंघका मनमोहन भट्ट विजयी भए भने माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका ओमप्रकाश सुनार पराजित भए । मनमोहनले ८२९ मत ल्याउँदा ओमले ८१२ मत ल्याए । 

त्यस्तै कोषाध्यक्षमा नेविसंघकी विधिशा मिश्र विजयी भइन् । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रकी छोरी विधिशाले ८६४ मत ल्याउँदा अनेरास्ववियुका आशुतोषकुमार गुप्ताले ७७९ मत ल्याए । 

आठ सदस्यहरुमा नेविसंघले ४, अनेरास्ववियुले ३ तथा अखिल क्रान्तिकारीले १ पद जितेको छ । 

नेविसंघबाट रेवन्त ढकाल, जुली पोख्रेल, सुप्रिया चालिसे र आषिश सापकोटा विजयी भए । 

अनेरास्ववियुबाट रसा पंडित क्षेत्री, प्रकाश तामाङ र कुशराज जोशी विजयी भएका छन् । त्यस्तै अखिल क्रान्तिकारीबाट निक्षा थापा विजयी भइन् । 

नेविसंघबाट आयुष न्यौपाने, अमृत पोख्रेल, सुवास कुशवाह र आषिश थापा पराजित भएका छन् । 

त्यस्तै लोकतान्त्रिक विद्यार्थी संघबाट अमितकुमार ठाकुर सबैभन्दा कम ३२३ मत ल्याएर पराजित भए । 

अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएकामा सदस्यका उम्मेदवारहरु विज्ञ कार्की, अञ्जली साह, जीवन विष्ट र दिक्षान्त नेपाल पराजत भएका छन् । 

समानुपातिकमा नेविसंघले ६२२, अनेरास्ववियुले ५६०, अखिल क्रान्तिकारीले २६६, समाजवादी विद्यार्थी युनियन नेपालले १४७ तथा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले ५० मत ल्याएको छ । 

कहाँ कहाँ भयो अन्तर्घात ? 
यसपालि नेविसंघलाई सबैभन्दा ठूलो धक्का लागेको छ । नेविसंघले नै चुनावका लागि विशेष पहल गरेको थियो । निर्वाचन नहुने निश्चित भएसँगै नेविसंघ उच्च अदालत पाटन गएर परमादेश जारी गराएर आएको थियो । 

यसअघिको स्ववियु चुनावमा पहिलो पटक अनेरास्ववियु बाहिरको नेतृत्व जाने क्रममा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी भएका थिए । त्यतिबेला नेविसंघ र क्रान्तिकारीबीच चुनावी एकता भएको थियो । 

यसपालि क्रान्तिकारी अनेरास्ववियुसँग मिसिन पुग्यो । यति हुँदा पनि यो एकताले क्लिनस्विप गर्न सकेन । अर्कातर्फ नेविसंघको पकड यसपालि बलियो थियो । 

ढुंगेल स्ववियु अध्यक्ष हुँदा खासै काम गर्न नसक्नु, आर्थिक पारदर्शितामा चुक्नु, विद्यार्थी हकहितमा लड्न नसक्नेजस्ता कमजोरीका कारण काम नभएको निष्कर्षमा स्ववियु थियो ।

त्यसको बदलामा नेविसंघको इकाइ समिति सक्रिय भएर लागिरहेको थियो । विद्यार्थी हकहित र सेवा सुविधामा देखिने गरी एमडी कुँदिरहेका थिए ।

त्यसले पनि एमडीको पकड बलियो थियो । कांग्रेसको देउवा पक्षका एमडी नेविसंघ भित्रकै शेखर पक्षका विद्यार्थीहरुबाट धोका खान पुगे । 

उनले नमिठो तरिकाले चुनाव हारे । व्यक्तिगत रुपमा नेविसंघले एमडीलाई भोट हालेनन् । उनले नजितुन् भन्नका लागि अनेरास्ववियुका समिरलाई भोट हाले । 

जसका कारण समिरलाई फाइदा भयो । अनेरास्ववियु पहिलेदेखि नै सुरक्षित हो । नेविसंघले पहिलो पटक ल क्याम्पसमा नेतृत्व लिने अवसर गुमायो । आन्तरिक धोकाको रुप यसबाट पनि स्पष्ट हुन्छ कि नेविसंघले अध्यक्षमा हार्दा सचिव, कोषाध्यक्ष र चार सदस्य जितेको छ । 

एमडीले आफूले हारेर भए पनि टिमलाई भने गुन लगाएको नेविसंघकै एक विद्यार्थी नेता बताउँछन् । उनले भने, ‘एमडी दाइले प्रयास राम्रो गर्नुभएको हो । तर हामी मिल्न सकेनौँ । भोट तानेर मात्रै नहुने रहेछ आफ्नो मत गुमाउनु दुर्भाग्य हुँदो रहेछ ।’

नेविसंघको शेखर कोइराला निकटका केही विद्यार्थीहरु एमडीलाई हराउन लागेको उनको आरोप छ । सो समूहका धेरै विद्यार्थीबीच भने कुनै मतैक्य नदेखिएको उनको जिकिर छ । गगन थापा समूहले भने एमडीको टिमलाई समर्थन गरेको पाइएको उनले बताए ।

यता अखिल क्रान्तिकारीभित्र पनि आन्तरिक धोका भएको छ । स्ववियुका निवर्तमान अध्यक्ष विष्णु ढुंगेल र आशा उपरकोटीका कारण क्रान्तिकारीले चुनाव हारेको क्रान्तिकारीकै एक विद्यार्थी नेताले बताए । 

उनका अनुसार पार्टीले चुनावका लागि खर्च गर्न दिएको रकमसमेत उनले चुनाव जितिने हैन किन खर्च गर्नु भनेर सुरक्षित राखेकोसमेत आरोप छ । 

एक क्रान्तिकारी स्रोतका अनुसार १७ मतमात्रले पराजित सचिवका उम्मेदवार ओम आफू पनि जितका लागि कटिबद्ध भएर लागेका थिएनन् । 

कतै यहाँ पनि आर्थिक चलखेल भएको हो कि भन्ने शंका उक्त स्रोत गर्छ । 

अनेरास्ववियुभित्र पनि एक मत नआउनुले नेतृत्वमाथि पनि शंका गर्ने ठाउँ भएको उनी निकट विद्यार्थी नेता बताउँछन् । कतै नेविसंघसँग नै साँठगाँठ गरेर अध्यक्षका लागि कोषाध्यक्ष दाउमा लगाइएको हो कि भन्ने शंका गर्ने ठाउँ छ । 

एलएलबी पढ्ने एक पाका विद्यार्थी नेताका अनुसार यसपालिको मिश्रित परिणामले पार्टी भन्दा पनि व्यक्ति हेरिएको छ । उनले भने, 'असन्तुष्ट जुनसुकै पार्टीमा पनि हुन्छन् । तिनै असन्तुष्टहरुसँग खेल्ने काम यसपटक मज्जाले भएको देखियो । सबैतिर धोका भएको हो कि भन्ने मलाई लाग्छ ।'

कसले कति मत पाए ? विवरणसहित–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ