विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासङ्घ अध्यक्ष ढकालको जोड
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
501
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन्। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैर आवासीय नेपाली सङ्घको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।
नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्न पर्नेमा उनको जोड थियो। “योजनाबद्ध दीर्घकालीन सोच विना विकास सम्भव छैन। विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुबईबाट सिक्न सक्छौँ। तेलमा मात्र निर्भर भएको युएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सिटी र व्यापार जस्ता क्षेत्रहरूमा ध्यान दिएको छ। दुबईलाई विश्वको व्यापारिक हब बनाएको छ। हामीले पनि हाम्रो देशमा भएका सम्भावनाहरिको पनि यसै गरी विविधीकरण गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ। ” उनले भने।
नेपालको सन्दर्भमा ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि जस्ता क्षेत्रमा व्यापक सम्भावना रहेकोले यी क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सके यसले रोजगारी सिर्जना तथा नेपालको समग्र आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष ढकालले बताए।
नेपाल कला र संस्कृतिमा धनी देश रहेको र देशका अमूल्य निधिका रूपमा रहेका कला, संस्कृति र परम्पराहरूको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सकिने उल्लेख गर्दै उनले विदेशमा आयोजना गरिने यस्ता महोत्सवहरूले नेपाललाई विश्वमा चिनाउने र मित्रता तथा सद्भाव बढाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
महासङ्घले नेपाल र युएईबिचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा निरन्तर कार्य गरिरहेको समेत उनले बताए। उनले महासङ्घ अबुधाबीस्थित नेपाली राजदूतावास र दुबई चेम्बर अफ कमर्ससँग मिलेर सन् २०२३ डिसेम्बरमा “नेपाल–दुबई व्यावसायिक फोरम” को आयोजना गरेको र यसले दुई देशका व्यावसायिक नेतृत्वहरूलाई आपसी सहकार्यका सम्भावनाहरू उजागर गर्ने अवसर प्रदान गरेको बताए।
विदेशमा कार्यरत नेपाली कामदारहरूको योगदानको निजी क्षेत्रले उच्च सम्मान गर्ने गरेको बताइँदै उनले महासङ्घले नेपाल र युएई दुवैलाई लाभ पुग्ने साझेदारीहरू निर्माण गर्न कटिबद्ध रहेको बताए।