arrow

सगरमाथाको काखमा कतारी राजकुमारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
katari-rajkumari.jpg

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । 

सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको थामेमा गाउँ साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भनिन्, “सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिदै जानु केवल नेपालका लागि मात्रै होइन, सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।” 

सन् २०१९ मा पहिलो पटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले यस पटकका हिमालहरूमा जीवन छैने यात्रालाई निकै भिन्न अनुभवका रूपमा लिएकीछन् । “पहिलोपटक आएँ, त्यसबेला हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो । अहिले फर्किंदा ती हिमालहरूमा जीवन छैन जस्तो अनुभूत गरेँ । हिउँ हराउँदै गएको छ, चट्टानहरू खुला र काला देखिएका छन् । मौसम परिवर्तन भएको छ । यो सबै परिवर्तन एकदमै गम्भीर छ”, राजकुमारी अलथानीले भनिन् । 

हिमाली वातावरणमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर थामेजस्ता बस्तीहरूले झेलिरहेका छन् । गएको वर्ष सगरमाथा क्षेत्रमा अवस्थित एक हिमताल फुट्दा आएको बाढीले थामे बस्तीमा व्यापक क्षति पु¥याएको थियो । त्यसबाट दर्जनौँ घर विस्थापित भए । विद्युत् संरचना ध्वस्त भयो । सडक सञ्जाल टुट्यो । बस्तीका बालबालिकाको शिक्षामा समेत बाधा पुग्यो । 

राजकुमारी थानीले यस्ता घटना जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताउँदै भनिन्, “यस्ता हिमाली बस्तीको पुनःनिर्माणमा केवल नेपाल सरकारको प्रयास मात्रै काफी हुँदैन । यो सङ्कटसँगै लड्न सम्पूर्ण अन्तरराष्ट्रिय समुदायले हातेमालो गर्नुपर्छ ।”

बाढीपहिरो, हिमताल विस्फोट, र हिउँपहिरोजस्ता विपद्बाट बच्न पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा राजकुमारीको विशेष जोड थियो । “हिमाली क्षेत्रहरू संवेदनशील छन् । यहाँ यस्ता प्रणाली भए यथासमयमा सूचना प्रवाह भएर जनजीवन जोगिन सक्छ । प्रविधिको सदुपयोग जरूरी छ ।” 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ