विधेयकहरूलाई पारित गर्न समय सीमा तोक्न संसद्मा कांग्रेसको प्रस्ताव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
753
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्ने समय सीमा तोक्ने प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो प्रस्ताव गरेका हुन् ।
विधेयकहरू संसद्मा अल्झिराख्ने परम्पराको अन्त्य गर्न समय सीमा तोक्न आवश्यक रहेको उनको भनाइ छ । उनले विधेयक संसद्मा टेबुल भएको ६ महिनाभित्रमा त्यसले कानूनको स्वरूप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी रहेको बताए । उनले विषयगत समितिले तीन महिनाभित्र प्रस्तुत विधेयकलाई छिनोफानो गरिसक्नुपर्ने, संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाले दुई महिनाभित्र र अन्य संसदीय काम कारबाहीको लागि थप एक महिनाको समय सीमा निर्धारण गर्न सकिए ६ महिनाभित्र विधेयक पास गर्न पारित गर्न सकिने बताए ।
उनले भने, ‘विधेयकहरू संसद्मा अल्झिराख्ने परम्पराको अन्त्य हुनपर्दछ । एउटा विधेयक संसद्मा टेबुल भएको कति दिनभित्रमा पारित भइसक्नुपर्ने हो । त्यसको स्पष्टता पनि अब आवश्यक छ । मेरो विचारमा विधेयक संसद्मा टेबुल भएपछि त्यसको ६ महिनाभित्रमा त्यसले कानूनको स्वरूप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी छ । त्यसका लागि राष्ट्रिय सभा जस्तै प्रतिनिधि सभामा पनि विधेयक पारित गर्ने निश्चित अवधि तोक्न आवश्यक छ । यस अधिवेशनबाट सबैको सहमतिले विषयगत समितिले पनि तीन महिनाभित्र प्रस्तुत विधेयकलाई छिनोफानो गरिसक्नुपर्ने, संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाले दुई महिनाभित्र र अन्य संसदीय कामकारबाहीको लागि थप एक महिनाको समय सीमा निर्धारण गरियो भने विधेयक ६ महिनाभित्रमा पास हुन सक्दछ ।’
आजका धेरै समस्याहरू नीति निर्माण मा ढिलाइ भएको कारणले पनि उत्पन्न भएको उनको दाबी छ । शिक्षक, चिकित्सक लगायतको आन्दोलन नीति निर्माणमा ढिलाइ भएकै कारण भएको उनको जिकिर छ ।