सकिँदै धोनी युग, चेन्नई प्लेअफबाट बाहिरिने लगभग तय
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
644
Shares
काठमाडौँ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको युग सकिँदै गएको छ । खेलाडीका रुपमा उनको युग सकिन लागेको हो ।
भारतीय सफल क्रिकेट कप्तानमध्येका एक धोनीले इन्डियन प्रिमियर लिग आईपीएलमा पनि कमालको रेकर्ड राखेका छन् ।
उनले चेन्नई सुपर किंग्सलाई पाँच उपाधि दिलाएका छन् । तर यसपालि उनी र उनको टिमको प्रदर्शनले अब धोनी अर्को सिजन खेलाडीका रुपमा आउनेमा शंका छ ।
शुक्रबार रातिको खेलमा चेन्नईले सनराइजर्स हैदराबादसँग ५ विकेटले पराजित भएसँगै पाँच खेल खेल्न बाँकी छँदै प्लेअफ पुग्ने सम्भावनाबाट लगभग बाहिरिएको छ ।
घरेलु मैदानमा पहिले ब्याटिङ गर्दै चेन्नईले एक बल खेल्न बाँकी छँदै अलआउट हुँदै १५४ रन बनायो । डेवाल्ड ब्रेभिसले २५ बलमा ४२ रन बनाए । धोनीले भने १० बलमा ६ रन जोडेर आउट भए ।
हर्षल पटेलले ४ विकेट लिए । जवाफमा हैदराबादले ८ बल खेल्न बाँकी छँदै ५ विकेट गुमाएर जित निकाल्यो । ईशान किशनले ४४ तथा कामिन्दु मेन्डिसले अविजित रहँदै ३२ रन जोडे ।
यो खेलसँगै ९ खेलबाट ४ अंकसहित चेन्नई पुछारमा छ । ८ खेलबाट गुजरात टाइटान्स र दिल्ली क्यापिटल्स १२ अंकसहित शीर्ष २ मा छन् ।
९ खेलबाट १२ अंकको रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो तथा ९ खेलबाट १० अंकको मुम्बई इन्डियन्स चौथो स्थानमा छ ।
एक खेल कम खेलेको पञ्जाब किंग्स र एक खेल बढी खेलेको लखनउ सुपर जाइन्टस समान १० अंकसहित पाँचौँ र छैटौँ स्थानमा छन् ।
साविक विजेता कोलकाता नाइट राइडर्स ८ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ ।
प्लेअफ सम्भावना कायम राख्न अब कोलकाताले खेल्न बाँकी सबै खेल जित्नुपर्नेछ ।
आज बेलुकी कोलकाता र पञ्जाब खेल्दैछन् । इडेन गार्डेनमा हुने खेल जित्दा कोलकाताले प्लेअफ सम्भावना जिवित राख्नेछ भने पञ्जाब जित्दा कम्तीमा चौथो स्थानमा पुग्नेछ ।
धोनीको करियर
धोनीले ९० टेष्ट खेलबाट ४ हजार ८७६ रन र एक दिवसीयबाट ३५० खेलबाट १० हजार ७७३ रन बनाएका छन् । टी–२० मा १ हजार ६१७ रन बनाएका छन् ।
विकेटकिपरसमेत रहेका उनले आईपीएलको शुरुआतदेखि नै खेलिरहेका छन् । उनले आईपीएलमा ५ हजार ३८३ रन बनाएका छन् । उनलाई सबैभन्दा सफल फिनिसरका रुपमासमेत चिनिन्छ ।