मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए ।
वर्षा भइरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पुर्याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।
उनले भने, “गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादन बढी भएको थियो । यसवर्ष बोटमा सञ्चित इनर्जी निकै कम हुँदा फूल पनि निकै कम फुलेको थिए । फुलेका फूल पनि हावा र पानीले असर ग¥यो । स्याउ बोटमा फूल धेरै फुल्न इनर्जी आवश्यकता पर्छ, बोटमा स्याउको फूल धेरै भए पनि अर्को वर्ष फूल फुलाउन स्याउ बोटले आवश्यक सञ्चित इनर्जी प्राप्त गर्न सक्दैन ।”
जिल्लामा गत वर्ष स्याउ उत्पादन राम्रो भएको केन्द्र प्रमुख आत्रेयले बताए । गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यसभन्दा अघिल्लो वर्षभन्दा सात सय ३४ मेट्रिक टन स्याउ उत्पादन वृद्धि भएको थियो ।