मानवीय अस्तित्वमा चुनौती र संस्कारी शिक्षाको महत्त्व
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ वैशाख २० शनिबार
1k
Shares
आज विश्व २१ औँ शताब्दीमा चलिरहँदा संसारभर नै मानवीय अस्तित्व,मूल्य,मान्यता,आचरण आदिमा प्रश्न मात्रै नउठेर सङ्कट नै आउन थालेको देखिन्छ । विज्ञान र प्रविधिको द्रुतगतिको विकासले मान्छेले निर्माण गरेको प्रविधिले मान्छे नै निर्देशित र नियन्त्रित हुँदै अनि मानवत्व नै गुमाउँदै गएर मान्छे नै सकिने त होइन भन्ने अवस्थाप्रति चिन्तित हुनुपर्ने देखिन्छ ।
के अब विश्वको सर्वश्रेष्ठ चेतनशील प्राणी भनिएको मान्छे मेसिन वा प्रविधि निर्देशित र नियन्त्रित यन्त्र बन्ने हो वा आफ्ना मूल्य र मान्यतालाई यथावत राख्दै विज्ञान र प्रविधिको पनि प्रयोग गर्दै जाने हो भन्ने विषयमा चिन्तन गर्ने बेला आएको देखिन्छ । आज हेर्दाहेर्दै एआईले मान्छेको बौद्धिक क्षमतालाई पछाडि धकेल्दै अगाडि दौडिरहेको छ ।
मानिस सामाजिक प्राणी हो । उसमा दया, माया, सेवा, प्रेम, सद्भाव नैतिकता, आचरण आदिजस्ता मानवीय संवेदनाका गुणहरू हुन्छन् भन्ने विषय पनि साँघुरिदै र खुम्चिँदै गएको देखिन्छन् । आज मान्छेको भिडमा मान्छे एक्लो छ।मान्छे मेसिनजस्तो हुँदा भौतिक रुपमा ऊ सुखीजस्तो देखिए पनि मानसिक रुपमा सुखी र खुशी दुवै छैन ।
आज मानिस एक्लिदै गएको कारण डिप्रेसन र एन्जाइटीजस्ता मानसिक रोगबाट ग्रसित भएको देखिन्छ । मानिस विज्ञानसँगै अगाडि दौडदा आफ्ना मूल्य, मान्यता, संस्कार, संस्कृतिका साथै आफूलाई बिर्सिएर आफ्नो अस्तित्वको नै सङ्कट पार्न खोजिरहेको देखिन्छ । आजका मान्छेका साथी विभिन्न साइजका डिभाइस र एआई बनिरहेका छन् ।
अहिले मानिसको दु:खसुखको साथी एआई बनिरहेको छ । प्रविधिको यो प्रयोग बढ्दै गएको अवस्थामा अब मान्छेले एकपटक टक्क अडिएर मानव र मानवत्वका बारेमा सोच्ने बेला आएको देखिन्छ । यहाँ अहिलेको विज्ञान र प्रविधिको गतिलाई अस्वीकार गर्ने भनेको होइन कि यसको प्रयोगसँगै आफ्ना सामाजिक, राजनीतिक, धार्मिक, नैतिक मूल्य र मान्यतालाई पनि सँगसँगै जीवनमा लैजानुपर्छ भन्न खोजिएको हो ।
व्यक्ति स्वतन्त्र हुनु भनेको छाडा जस्तो हुनु भनेको पक्कै होइन । स्वतन्त्रता र खुलाका नाममा समाज अलिकति अनियन्त्रित र छाडा हुँदै गएको हो कि जस्तो देखिन्छ । अनुशासन र संस्कारले मान्छेलाई बन्धनमा पार्ने होइन कि सच्चरित्र निर्माण गर्न सिकाउँछ । मानिस खुला वा स्वतन्त्र हुन पनि निश्चित सीमा र परिधि छन् । कुनैबेला कुनै विषयलाई आधार बनाएर अपव्याख्या गरिँदा आज नेपाली समाजमा मानवीय मूल्य र मान्यतामा प्रश्न उठेको देखिन्छ ।
पहिलेपहिले विद्यालयमा राखिएका संस्कृत र नैतिक शिक्षाका पाठ्यक्रमलाई कसैको प्रभावमा परेर सम्भ्रान्त वर्गको भाषा र हिन्दूधर्मका शास्त्र र सिद्धान्त हुन् भनी आक्षेप लगाई हटाउँदा त्यसको परिणाम अहिलेको समाजले भोग्नुपरेको छ । अब राज्यले ढिला नगरी विद्यार्थीलाई नैतिकवान, अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ बनाउने पूर्वीय धर्म र दर्शनका महत्त्वपूर्ण विषयलाई आजको विद्यालयीय पाठ्यक्रममा समेटी नैतिक र संस्कारी शिक्षा दिनुपर्ने देखिन्छ ।
कुनै पनि धार्मिक विषयमा ज्ञान आर्जन गर्दा त्यही धर्म नै मान्नुपर्छ भन्ने त छैन । पश्चिमी जगतमा पूर्वका धेरै धार्मिक र दार्शनिक कुराहरूलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गरिएका छन् । नेपाल जस्तो करिब ८१ प्रतिशत हिन्दूधर्म मान्ने देशमा हिन्दूधर्मसँग सम्बन्धित सामग्रीलाई विद्यालयका पाठ्यक्रममा समावेश गरिनुपर्छ भन्दा कुनै अनौठो र विवादित गराउनु पर्छ जस्तो लाग्दैन ।
विद्यार्थीको दोस्रो घर भनेको विद्यालय हो।विद्यार्थी भनेका काँचो माटो हुन्। काँचो माटोलाई आकार दिन पाठ्यक्रम र पाठ्यपुस्तक, पाठ्यसामग्रीका साथै शिक्षकको महत्त्वपूर्ण भूमिका हुन्छ । विद्यालयमा पढाइने र दिइने शिक्षा र शैक्षिक क्रियाकलापले विद्यार्थीको व्यक्तित्व र भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका रहन्छ । आज देशका कतिपय विद्यालयहरूले आफ्नै छुट्टै पाठ्यक्रम निर्माण गरेर संस्कारी शिक्षा पढाइरहेका पनि छन् । यसैबाट पनि राज्यले सिक्ने कि ?
विशाल भाव बोकेको संस्कार शब्दलाई निकै सङ्कुचित तरिकाले टिप्पणी गर्नु हुँदैन र कुनै धर्मसित सम्बन्धित शब्द वा विषय मात्र बनाएर अपव्याख्या गरिनु हुँदैन। यो त व्यक्ति, परिवार, समाज, राष्ट्र राजनीति, धर्म, भाषा आदि धेरै विषयसँग जोडिएको हुन्छ।
आज नेपालका विभिन्न क्षेत्रमा नेतृत्व गर्ने नेतृत्वहरूमा संस्कारगत गुणहरू नै नहुनाले सामाजिक संरचना क्षयोन्मुख हुँदै गएको पनि देखिन्छ।संस्कारले मान्छेलाई उत्तरदायी,जिम्मेवारी,सच्चरित्र,अनुशासित र कर्तव्यनिष्ठ बनाउँछ।
मान्छेमा नैतिक,धार्मिक,सामाजिक,राजनीतिक सबै किसिममा संस्कार हुनुपर्छ। मान्छेले जुन पेसा,सेवा,व्यवसाय गरेको हुन्छ त्यस विषयसँग सम्बन्धित संस्कारहरू हुनुपर्छ।हरेक विषयका निश्चित मूल्य र मान्यता हुन्छन्,तिनैलाई अनुशरण गर्नु पनि संस्कारी बन्नु हो।
हाम्रो दैनिकीमा अत्यन्तै प्रचलित संस्कार शब्द हो तर यसैको अभाव हुँदै गएको छ।यो शब्दले विशाल भावार्थ बोकेको छ।मानिसहरू बारम्बार संस्कारी हुनुपर्छ वा संस्कारमा रहनुपर्छ भनेर आशिर्वचन दिने गर्छन्।वास्तवमा संस्कार भनेको कुनै पनि व्यक्तिलाई अनुशासनमा राख्ने विधि, नियम र तरिका नै हो।
जो व्यक्तिले सामाजिक,धार्मिक,राजनीतिक आदि मूल्य,मान्यता र संस्कारलाई मान्दछ,त्यसलाई संस्कारी भनिन्छ।व्यक्तिको मन,वचन र कर्मलाई सुधार गर्ने वा परिष्कृत गराउने विधि वा तत्त्वलाई लाई संस्कार भनिन्छ।संस्कार भनेको कर्तव्यको बोध गराउने महत्त्वपूर्ण साधन पनि हो।
मानिस आफ्नो कर्मको शिलशिलामा जन्मदेखि मृत्युपर्यन्तसम्म अनेक विषय र क्षेत्रसँग सम्झौता र समन्वय गर्नुपर्छ।व्यक्ति वा समाजलाई बाँध्ने विधि नै संस्कार हो।संस्कारले आफू हुनुको अर्थ पनि प्रकट गरिदिन्छ।संस्कारी ज्ञानले मान्छेलाई आजको युगमा पनि एक्लो हुनबाट रोक्छ।मानिसलाई सामाजिक बनाउन संस्कारले सिकाउँछ।यसले घरपरिवारका सदस्यसँग,समाजका विभिन्न व्यक्तिहरूसँग र विद्यार्थी र शिक्षकका बीचमा थप सम्बन्ध स्थापित गराउन मद्दत गर्दछ।कसरी र कति बोल्ने,कस्तोलाई माया र आदर गर्ने,सामाजिक क्रियाकलापमा कसरी सहभागी हुने भन्ने जस्ता कुराहरू संस्कारी शिक्षाबाट प्राप्त गर्न सकिन्छ।
संस्कार तत्सम शब्द हो।यो शब्दको व्युत्पत्तिगत अर्थलाई हेर्दा पनि कृ धातुमा सम् उपसर्ग र घञ् प्रत्यय लागेर बनेको हो।कृ को अर्थ सिर्जना गर्नु वा निर्माण गर्नु भन्ने बुझिन्छ भने सम् को अर्थ राम्रो तरिकाले वा उचित तरिकाले भन्ने बुझिन्छ।
यसरी मानिसले सिर्जनात्मक तरिकाले सामाजिक,मानसिक,धार्मिक,राजनीतिक,राष्ट्रिय आदि विभिन्न कोणले बहुआयामिक व्यक्तित्व निर्माण गर्ने वा कर्तव्यको बोध गराउने विधि नै संस्कार हो।
संस्कार भनेका कुनै धार्मिक वा सामाजिक सम्प्रदायले निर्माण गरेका लिखित वा अलिखित कानुनसरहकै नियमहरू हुन्।राष्ट्र,समाज,धर्म अनुसार संस्कारहरू फरकफरक हुन्छन्।देशको संविधान,कानुन र ऐनहरू पालन गर्नु पनि संस्कार भित्रकै कुराहरू हुन्।मानिस संस्कारी हुनका लागि सबै किसिमका मूल्य मान्यतालाई अनुशरण गर्नुपर्छ।
संस्कारको ज्ञानबाट मानिसलाई धार्मिक, सामाजिक, अनुशासित, नैतिकवान, दयावान, कर्तव्यबोधी, इमान्दारी, सदाचारी, परिश्रमी, शिष्ट, सभ्य, विचारी, परोपकारी, देशभक्ति, समन्वयी, सहयोगी, सहिष्णु आदि जस्ता वैयक्तिक गुणहरू विकास गर्न महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।
जुन व्यक्तिले धार्मिक, सामाजिक,राजनीतिक आदि जस्तासंस्कारलाई पालना गर्न सक्दैन वा मान्दैन त्यो व्यक्ति अनुशासन र आचरणभन्दा बाहिर गएको मानिन्छ ।
कुनै व्यक्तिले आफ्नो व्यक्तित्वलाई उचाईमा पुर्याउनु छ र प्रकाशमय बनाउनु छ भने संस्कारभित्र रहनै पर्छ।संस्कारको ज्ञानले व्यक्तिको व्यक्तिगत सुखदेखि लिएर सामाजिक प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान दिन्छ।
संस्कार शब्द बहु विषयसँग जोडिएर आउने भएपनि नेपाली समाजमा यो शब्द खासगरी हिन्दुधर्म र नैतिकतासँग अलि जोडेर बढी प्रयोग गरिएको पाइन्छ। नेपाली समाज सनातन धर्म,पूर्वीय संस्कारबाट विकसित समाज हो। पूर्वीय शास्त्रहरूमा संस्कारका बारेमा बृहत् चर्चा र व्याख्या गरिएको छ।
पूर्वमा व्यक्तिको व्यक्तित्व निर्माणको लागि वेद,उपनिषद्,पुराण आदि जस्ता शास्त्रहरूमा मान्छेको जन्मपूर्वदेखि मृत्युपर्यन्तसम्म विभिन्न संस्कारहरूको चर्चा गरिएको छ।पूर्वीय संस्कारलाई केवल धर्मसित जोड्दा आज विद्यार्थीहरू आफ्नो व्यक्तित्व निर्माणको एउटा महत्त्वपूर्ण पक्ष संस्कारबाट विमुख भएका देखिन्छन् ।
संस्कारयुक्त शिक्षाले विद्यार्थीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाई देशभक्त,सक्षम र योग्य नागरिक बनाउन महत्त्वपूर्ण योगदान दिन्छ।नेपाली समाजमा पछिल्लो समय मानिसले आफ्नो आधारभूत मानवीय मूल्य र मान्यता बिर्सिदै गएको अवस्थामा संस्कार शिक्षा अनिवार्य आवश्यकता भएको देखिन्छ।अहिले त झन् मान्छेलाई विज्ञान,प्रविधि र आविष्कारले मेसिन नै बनाइ दिएको अवस्थामा संस्कारी शिक्षा अनिवार्य हुनुपर्ने देखिन्छ।मान्छे भित्र मानवत्वको पुन: सिर्जनाको लागि संस्कारी ज्ञान चाहिन्छ।संस्कार भनेको आफू कसरी चम्किलो,उज्यालो र कर्तव्यमुखी बन्न सकिन्छ भन्ने एउटा महत्त्वपूर्ण विषय हो।
हिन्दु धर्म ग्रन्थमा विभिन्न धार्मिक संस्कारहरू उल्लेख गरिएका छन्,जुन हाम्रो चरित्र निर्माण गर्न अत्यन्तै महत्त्वपूर्ण र उपयोगी छन्। गृहसूत्रमा ४० वटा संस्कारहरू उल्लेख गरिएका छन्।पूर्वज ऋषिमुनिहरूले मानव जीवनलाई मर्यादित र सुसंस्कृत बनाउन यी विभिन्न संस्कारहरू बनाएका थिए भनिन्छ ।
अहिले हिन्दू समाजमा गर्भाधानदेखि अन्त्यष्टिसम्म १६ संस्कारहरू प्रचलित छन् । ती संस्कारहरूमा गर्भाधान, पुंसवन, सिमन्तोन्नयन, जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्रासन, चूडाकर्म, कर्णवेध, विद्यारम्भ, उपनयन, केशान्त, समावर्तन, विवाह, वानप्रस्थ, अन्त्यष्टि हुन् ।
समाजमा कतिपयले हिन्दू शास्त्रमा दिइएका यी संस्कारको उपयोगिता र महत्त्वलाई नै नबुझी अन्य आगन्तुक संस्कारको पालन गरेको पनि देखिन्छ।अन्त्यमा, अहिलेको मान्छे असांस्कारिक,अनियन्त्रित र मेसिनरी वस्तु जस्तै बन्दै गएको अवस्थामा एकपटक अडिएर आफ्नो मौलिकता,इतिहास,धर्म,संस्कार,संस्कृति,मूल्य र मान्यताका बारेमा विमर्श गर्ने कि? (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)