मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा 'खेलकुद राष्ट्रको शान, स्थानीय खेलमा उत्पादन हाम्रो अभियान' भन्ने नारा सहित दोस्रो नगर खेलकुद महोत्सव शुरु भएको छ ।
शनिबार जाँते मोडस्थित पथरी रंगशालामा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले खेलकुद महोत्सवको उद्घाटन गरेका हुन् ।
नगर खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद महोत्सवमा यस पटक महिला तथा पुरुष फुटबल, पुरुष भलिबल, पुरुष क्रिकेट, बुद्धिचाल, कराँते, मिनि म्याराथन, भारोत्तोलन र पौडी प्रतियोगिता सञ्चालन हुनेछन् ।
जसका विजेताहरुले आकर्षक पुरस्कार राशीसहित ट्र्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । बैशाख ३० गतेसम्म सञ्चालन हुने यस वर्षको खेलकुद महोत्सवमा विगतको तुलनामा थप खेल विधाहरू समावेश गरिएको आयोजक नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलाल बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार खेलकुद प्रतियोगिता जाँतेमोड , जिरीखिम्ति , किर्तिपुर लगायतका स्थानमा आयोजना हुने छ ।
पुरस्कारमा आकर्षक राशी र ट्रफी
करिब १४ लाख ५० हजार अनुमानित बजेट रहेको खेलकुद महोत्सवमा पुरुष फुटबल प्रतियोगिताको विजेताले नगद रु १ लाख , उपविजेताले रु ५० हजार , भलिबल प्रतियोगिताको विजेताले रु ३१ हजार , उपविजेताले रु २१ हजार , क्रिकेट प्रतियोगिताको विजेताले रु ३५ हजार , उपविजेताले रु २० हजार , महिला फुटबल प्रतियोगिताको विजेताले रु १५ हजार , उपविजेताले रु ७ हजार , कराँते प्रतियोगिताको पुरुष र महिला विजेताले ५/५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।
यसैगरी म्याराथन प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुनेहरुले क्रमशः रु ७ हजार , रु ५ हजार , रु ३ हजार र रु २ हजार पुरस्कार पाउनेछन् ।
यस्तै बुद्धिचाल प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय , चौथो , पाँचौ र छैटौं हुनेहरूले क्रमश: रु १० हजार , रु ६ हजार , रु ४५ सय , रु ३५ सय , रु २५ सय पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
यस्तै पौडी प्रतियोगितामा प्रथम हुनेले रु ५ हजार , दोस्रो हुनेले रु ३ हजार र चौथो हुनेले रु २ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । विभिन्न प्रतियोगिताका विजेताहरुले नगद सहित ट्रफी , मेडल र अन्य विधागत पुरस्कारहरु समेत प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
नगरपालिकाले खेलकुदको माध्यमबाट युवा र समुदायबीच सहकार्य र सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आएको जनाएको छ ।
उद्घाटन समारोहमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि र खेल क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जानकारी दिइएको छ ।