arrow

प्रतिकूल मौसमले मुलुकको उडान प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
domestic-airport-tia.jpg
फाइल तस्बिर

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ  ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । बिहान ‘इन रुट वेदर’ का कारण अन्तरराष्ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट) को विमान डाइभर्ट भएको उनले जानकारी दिए ।

रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाडौँ विमानस्थलसहित काठमाडौँ बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिए । दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौँ-थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उनले बताए ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाडौँ आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ । 

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ