सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ - गृहमन्त्री लेखक [भिडियो]
पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियाबाट बाहिर राखेर सङ्क्रमणकालीन न्यायको प्रक्रिया ठीक ढङ्गले निष्कर्षमा पुग्दैन, देशका प्राथमिकताका विषयलाई सम्बोधन गर्नका लागि यो सरकार बनेको हो
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
617
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेर छोड्ने दाबी गरेका छन् । बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचनेको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले सङ्क्रमणकालीन न्यायको विषय सम्बोधन गर्न सरकार अघि बढिसकेको जिकिर गरे ।
उनले मुलुकमा स्थिरता प्रदान गर्ने, सुशासन दिने, यस्ता सङ्क्रमणकालीन न्याय जस्ता देशका प्राथमिकताका विषयलाई सम्बोधन गर्नका लागि यो सरकार बनेको बताए । सरकारमा संलग्न राजनीतिक दलहरूका बीचमा भएको सहमतिअनुसार सरकार अघि बढ्ने बताउँदै सिफारिस समितिले आफ्नो सिफारिसको काम अघि बढाइसकेको बताए । उनले सङ्क्रमणकालीन न्यायको आजको परिस्थितिलाई यदि कुनै पनि नाममा अलमल र कुनै पनि नाममा अवरुद्ध भए दोस्रो पटक यसलाई फेरि लयमा ल्याउन धेरै समय र धेरै अप्ठ्यारो हुने बताए ।
सिफारिस समितिलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी ढङ्गले सिफारिस गर्न दिन आग्रह गरे । आयोगमै पीडितको प्रतिनिधित्वको विषय पनि सिफारिस समितिसँग कुरा गर्न सकिने उल्लेख गरे । त्यो हुन नसके नयाँ संशोधनमा, ऐनमा पीडित समन्वय इकाई भनेर गठन गरिएको र त्यसलाई नियमावलीमा थप स्पष्ट पारेर व्यवस्था गर्न सकिने बताए । पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियाबाट बाहिर राखेर सङ्क्रमणकालीन न्यायको प्रक्रिया ठिक ढङ्गले निष्कर्षमा नपुग्ने बताए ।
गृहमन्त्री लेखकले भने, ‘सङ्क्रमणकालीन न्यायको विषयलाई यो सरकारले सम्बोधन गरि छोड्छ । हामी त्यो कुरामा अघि बढिसकेका छौँ, यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मुलुकमा स्थिरता प्रदान गर्ने, सुशासन दिने, यस्ता सङ्क्रमणकालीन न्याय जस्ता देशका प्राथमिकताका विषयलाई सम्बोधन गर्नका लागि यो सरकार बनेको हो । सरकार दृढतापूर्वक अघि बढेको छ । हामी सरकारमा संलग्न राजनीतिक दलहरूका बीचमा भएको सहमतिअनुसार सरकार अघि बढ्छ । अवधिका हिसाबले पनि र कामका हिसाबले पनि । सङ्क्रमणकालीन न्यायको विषयलाई पनि हामी सम्बोधन गर्दछौँ । सिफारिस समितिले आफ्नो सिफारिसको काम अघि बढाएको छ । सरकारले सङ्क्रमणकालीन न्यायका निम्ति दुवै आयोगहरू गठन गर्ने काम गर्दछ । काम अघि बढ्छ । सङ्क्रमणकालीन न्यायको आजको परिस्थितिलाई यदि हामीले कुनै पनि नाममा अलमल गर्यौँ, कुनै पनि नाममा यो अवरुद्ध भयो भने दोस्रो पटक यसलाई फेरि ट्रयाकमा ल्याउन धेरै समय र धेरै अप्ठ्यारो हुने अनुमान गरिरहेको छु । हामी पटक पटक असफल भएका छौँ । फेरि हामी असफल भयौँ भने सङ्क्रमणकालीन न्यायको विषय सम्बोधन गर्ने कुरा फेरि एक पटक अत्यन्त ज्यादा अप्ठ्यारोमा पर्ने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु । त्यसो भएको हुनाले सिफारिस समितिलाई सिफारिस गर्न दिऊँ । स्वतन्त्र, निष्पक्ष, पारदर्शी ढङ्गले गर्न दिऊँ । सरकारलाई आयोग बनाउन दिऊँ । आयोगमै पीडितको प्रतिनिधित्व गर्नुपर्छ भन्ने कुरा पनि उठेको छ । अब आयोगमै पीडितको प्रतिनिधित्वको विषय पनि सिफारिस समितिसँग कुरा गर्न सकिन्छ । तर सिफारिस समिति आफ्नो प्रक्रियामा अघि बढिसकेको छ । सर्टलिस्ट गरिसकेको छ । सर्टलिस्टभित्रबाट मानिस सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ । उहाँहरुको मापदण्ड छ । विकल्पमा जानुपर्छ । आयोगमै प्रतिनिधित्व हुन सक्यो भने त्यो पनि कोसिस गरौँ । यदि त्यो हुन सक्दैन भने यो पालि हामीले बनाएको नयाँ संशोधनमा, ऐनमा पीडित समन्वय इकाई भनेर गठन गरिएको छ । त्यसलाई नियमावलीमा थप स्पष्ट पारौँ, थप व्यवस्था गरौँ । र पीडितको पक्षमा काम गरिरहनुभएका सबैलाई यो प्रक्रियामा जोड्नुपर्छ । यो प्रक्रियामा संलग्न गराउनै पर्छ । पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियाबाट बाहिर राखेर सङ्क्रमणकालीन न्यायको प्रक्रिया ठिक ढङ्गले निष्कर्षमा पुग्दैन ।’