काठमाडौं। नेपाल प्रहरीले विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शैक्षिक प्रमाणपत्र लगायतका नक्कली कागजात बनाउने तीन जनाको गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बिहीबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका– ७ फुटुङमा नक्कली कागजात बनाउने कार्य भइरहेको सूचनाको आधारमा छापा मारेको थियो। पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका – २ देवी चोक बस्ने ४६ वर्षीया अन्जनी बयलकोटी, ओखलढुङ्गा घर भई बुढानीलकण्ठ नगरपालिका – १२ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका – १ दह चोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेका छन्।
अनुसन्धानका अनुसार मुख्य अभियुक्त अन्जनी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहका सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पुर्जा र सवारी चालक अनुमति पत्र लगायतका कागजातहरू किर्ते गरी प्रयोग गर्ने र बिक्री गर्ने गरेको खुलेको छ। उनले नक्कली कागजात डिजाइनका लागि दुई जना सहयोगीलाई मासिक १० हजारदेखि १५ हजारसम्म तलब दिएर कार्य सञ्चालन गर्दै आएकी थिइन्।
उनीहरूले डिपेन्टेन्ड भिसा, विवाह दर्ता प्रमाणपत्रदेखि बैंकबाट ऋण लिने प्रयोजनका लागि नक्कली जग्गाधनी पुर्जा समेत बनाइदिने गरेको प्रहरीले जनाएको छ। विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका नक्कली स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाउने गरेको पनि अनुसन्धानमा खुलेको छ। कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका होलोग्राम उपलब्ध गराउने र जापान लगायतका देशमा कामदार भिसामा जान विभिन्न तहका शैक्षिक प्रमाणपत्र तथा अनुभव पत्र समेत बनाइदिने गरेका थिए। विदेशमा बस्ने नेपाली नागरिकहरूका लागि विदेशको पीआर तथा ग्रीन कार्ड आवेदनका लागि नेपालका मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल, वीर अस्पताल लगायतका नक्कली मेडिकल कार्ड बनाउने र भिजिट भिसाका लागि ‘क’ वर्गका बैंकहरूको नक्कली बैंक स्टेटमेन्ट समेत बनाउने गरेको पाइएको छ।
प्रहरीले उनीहरूको साथबाट ४२ थान माइग्रेसन सर्टिफिकेट, ६० थान क्यारेक्टर सर्टिफिकेट, ११० थान शैक्षिक ट्रान्सक्रिप्ट, ५ थान विवाह दर्ता प्रमाणपत्र, ५० थान प्रोभिजनल सर्टिफिकेट र १० थान जग्गाधनी दर्ता प्रमाण बरामद गरेको छ। साथै, विभिन्न सहकारी संस्थाका लेटर प्याड, विभिन्न बैंक तथा सहकारीका स्टेटमेन्ट पाना र स्थानीय तहबाट प्रदान गरिने विभिन्न किसिमका सिफारिस पत्रहरू पनि बरामद भएका छन्।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयले जनाएको छ।