विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन हुँदैछ - बाबुराम भट्टराई
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
529
Shares
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्व व्यवस्था तीव्र गतिमा परिवर्तन भइरहेको बताएका छन्। नेपालको कूटनीति र अन्तर्राष्ट्रिय मामिलालाई थप सक्रिय बनाउने उद्देश्यले आइतबार काठमाडौंमा एम्बास्डर्स क्लब र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोवल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को सुरुवात भएको अवसरमा उनले उक्त विचार व्यक्त गरेका हुन्।
सोही कार्यक्रममा नेपालको पहिलो कूटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको छ। पूर्वप्रधानमन्त्री भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लब र ‘द डिप्लोम्याट नेपाल’ को थालनीले विश्वमा भइरहेको परिवर्तनमा नेपालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले नेपाल अब निष्क्रिय भएर बस्न नहुनेमा जोड दिए। शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानका लागि यी प्रयासहरू समयसापेक्ष र आवश्यक भएको उनको भनाइ थियो।
कार्यक्रममा एम्बास्डर्स क्लब र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले यी संस्थाहरूको सुरुवातलाई नेपाललाई विश्व संवादको केन्द्रमा पुर्याउने यात्राको थालनीको रूपमा व्याख्या गरिन्। नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित भएर विश्व मञ्चमा गुञ्जिने उनको विश्वास थियो।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालले गर्ने हरेक निर्णयले देशको पहिचान, इतिहास र अस्तित्वसँग सम्बन्धित गम्भीर प्रश्नहरूलाई सम्बोधन गर्नुपर्ने बताए। आज नेपालको सबैभन्दा महत्वपूर्ण कार्य भनेको रणनीतिक संलग्नता, बहुपक्षीय साझेदारी र स्पष्ट कूटनीतिक आवाजमार्फत आफ्नो उपस्थितिलाई पुनः परिभाषित गर्नु रहेको उनको धारणा थियो।
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले आईआरजीडीडी र एम्बास्डर्स क्लबलाई ‘समय सापेक्ष र रूपान्तरणकारी’ प्लेटफर्मको रूपमा व्याख्या गरिन्। विश्व जटिल संकट र जलवायु परिवर्तन जस्ता संवेदनशील मुद्दाहरूसँग जुधिरहेको अवस्थामा यस्ता पहल नेपालका लागि महत्वपूर्ण हुने र अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको भूमिकालाई सशक्त बनाउनुपर्नेमा उनले जोड दिइन्।