काठमाडौँ। नेपालमा पछिल्लो चार वर्षमा चट्याङ लागेर दुई सय ३७ जनाको ज्यान गएको छ भने नौ सय आठ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशीदेखि सुदूरपश्चिम र कर्णालीदेखि मधेससम्म चट्याङको जोखिम रहेको छ।
प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेको जानकारी दिइन्। उनले २०७८ साउन १ देखि २०८२ जेठ ५ गतेसम्म चट्याङका एक हजार ११८ घटना भएको र एक हजार ६०७ परिवार प्रभावित भएको बताइन्। विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा रहेको उनको भनाइ छ।
सहसचिव श्रेष्ठका अनुसार घरगोठ र अग्ला टावरहरू चट्याङको मुख्य निशानामा पर्छन्। बर्खायाममा कृषि कार्यमा संलग्न सर्वसाधारण यसबाट बढी प्रभावित हुने गरेका छन्। कोशी प्रदेशमा चट्याङका घटना बढी हुने गरे पनि मानवीय तथा भौतिक क्षति भने लुम्बिनी प्रदेशमा बढी भएको तथ्याङ्कले देखाउँछ। विगत चार वर्षमा कोशीमा चट्याङका २९५ घटनामा ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् भने लुम्बिनीमा १८० घटनामा ५४ जनाको ज्यान गएको छ र धेरै भौतिक क्षति भएको छ। अन्य प्रदेशहरूमा पनि मानवीय क्षति भएको छ जसमा सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाको मृत्यु भएको छ। घाइते हुनेको संख्या कर्णालीमा २०७, सुदूरपश्चिममा १५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ रहेको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको बताए। प्रि–मनसुन र मनसुन अवधिमा वायुमण्डल अस्थिर हुने भएकाले चट्याङका घटना बढी हुने गरेको उनको भनाइ छ। नेपालको भौगोलिक अवस्थाका कारण यहाँ बढी चट्याङ पर्ने गरेको उनले उल्लेख गरे।
सहप्राध्यापक सिग्देलका अनुसार चट्याङलाई रोक्न नसकिए पनि यसबाट हुने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिन्छ। सचेतना नै क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए। विकसित मुलुकको तुलनामा नेपालमा चेतना र प्रविधिको अभावका कारण बढी मानवीय तथा भौतिक क्षति हुने गरेको उनको भनाइ छ। अध्ययनले ८० प्रतिशत मानवीय क्षति काम गर्ने मानिस खुला स्थानमा हुँदा भएको देखाएको र यसलाई सजिलै रोक्न सकिने उनले बताए। मनसुनमा मध्याह्नपछि बढी चट्याङ पर्ने भएकाले सो समयमा खेतमा काम गर्ने वा गाईबस्तु चराउने जस्ता कार्य नगरे मानवीय क्षति कम गर्न सकिने उनको सुझाव छ।
जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेतमा चट्याङ पर्ने सूचना एक घण्टाअघि दिने राडार जडान गरे पनि ती हाल बिग्रेर थन्किएका छन्। ती राडार मर्मत गरेर सञ्चालनमा ल्याएमा चट्याङ पर्ने क्षेत्रबारे आधा घण्टादेखि एक घण्टाअघि जानकारी पाउन सकिने विज्ञ सिग्देलले बताए। घर तथा ठूला संरचना निर्माण गर्दा चट्याङ प्रतिरोधी उपकरण जडान अनिवार्य गरे जोखिमबाट बच्न सकिने र स्थानीय तहले सचेतना कार्यक्रमलाई वडा र टोलसम्म पु¥याउनुपर्नेमा उनले जोड दिए।