गोपनियताका सूचना दिन आवश्यक छैन - गृहमन्त्री लेखक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
494
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सुरक्षा र गोपनियतासँग जोडिएका सूचनाहरू नागरिकलाई दिन आवश्यक नरहेको बताएका छन्।
मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले संविधानले नागरिकलाई सूचनाको हक दिए पनि मुलुकको शान्ति सुरक्षा, प्रतिरक्षा, वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्ध जस्ता संवेदनशील सूचनाहरू सार्वजनिक गर्न जरुरी नभएको स्पष्ट पारे।
उनले पारदर्शिता र सुशासनको नाममा सबै सूचना दिँदा मुलुकमा अराजकता फैलिन सक्ने दाबी गरे। संविधानको व्यवस्थालाई सन्तुलित र समग्र रूपमा बुझ्न आवश्यक रहेको उनको भनाइ थियो।
गृहमन्त्री लेखकले भने, ‘सूचनाको हक दिनु हाम्रो कर्तव्य हो र सूचना प्राप्त गर्नु नागरिकको अधिकार हो। तर सूचनाको हकको अर्थ जे माग्यो त्यही दिनुपर्छ भन्ने होइन। कतिपय सूचनाहरू गोपनियतासँग सम्बन्धित हुन्छन्, जुन दिन आवश्यक छैन। मुलुकको शान्ति सुरक्षा, प्रतिरक्षा, वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्ध जस्ता विषयका सूचनाहरू सबै सार्वजनिक गर्दा मुलुकमा अराजकता निम्तिन सक्छ। संविधानको व्यवस्थालाई सन्तुलित रूपमा बुझ्न जरुरी छ। सूचनाको हकको रेफ्री सूचना आयोग नै हो।’
यद्यपि, गृहमन्त्री लेखकले अनावश्यक रूपमा सूचना लुकाउन नहुनेमा पनि जोड दिए। सूचना लुकाउनुपर्ने भए त्यसको स्पष्ट कारण उल्लेख गरी जानकारी दिन उनले आग्रह गरे।