ज्येष्ठ नागरिकको सामाजिक एकान्तताबारे कुरा गर्न परराष्ट्रमन्त्री राणा जापानमा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
608
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजू राणा देउवा जापान गएकी छिन् । भोलिदेखि जापानको टोकियोमा शुरू हुने ज्येष्ठ नागरिकमा देखिने सामाजिक एकान्तता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गएराति जापान गएकी हुन् । मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउन्डेसन फर द वेलफेयर एन्ड एजुकेसन अफ द एसियन पिपुल) ले आयोजना गर्ने सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्चअधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ ।
ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक), सुरक्षित मातृत्व सञ्जाललगायत सङ्घसंस्थामार्फत नेपाली महिलाको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी मन्त्री डा राणालाई सो कार्यक्रमको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको हो ।
जापानमा रहँदा उनले महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।