पोखरा विमानस्थल अनियमितता: संसदीय समितिद्वारा प्रतिवेदन अख्तियारमा पठाउने निर्णय [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
607
Shares
काठमाडौँ । संसदीय समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ।
बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो। बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि विस्तृत छलफल भएको थियो। छलफलपछि समिति सभापति ऋषिकेश पोखरेलले प्रतिवेदनमाथि आवश्यक अनुसन्धान गरी यथाशीघ्र कारबाहीको दायरामा ल्याउन अख्तियारलाई निर्देशन दिएका छन्।
राजेंद्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आफ्नो प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो। उपसमितिले विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो।