विपद्का लागि सधैं तयार रहन गृहमन्त्री लेखकको सशस्त्र प्रहरीलाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
532
Shares
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि सशस्त्र प्रहरी बलले निष्ठापूर्वक काम गर्नुपर्ने बताएका छन्। सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयको तालिम समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गृहमन्त्री लेखकले विपद्का समयमा आम नागरिकको जीउ, जीवन र धनको रक्षाका लागि सशस्त्र प्रहरी बल सधैं अग्रगतिमा रहनुपर्नेमा जोड दिए। उनले तराई, मधेश, पहाड, हिमाल जुनसुकै ठाउँमा पर्ने विपद्को समयका लागि तयार भएर बस्न निर्देशन दिए। मन्त्री लेखकले विपद्मा परेका नागरिकको जीवन रक्षाका लागि सशस्त्र प्रहरीले गर्दै आएको कामको प्रशंसा गर्दै भविष्यमा पनि निष्ठापूर्वक काम गर्न आग्रह गरे।
उनले संघ, प्रदेश र स्थानीय तहका सरकार आपसमा मिलेर विपद्को जोखिम न्यूनीकरण गर्दै जनधनको सुरक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए। "सशस्त्र प्रहरी बल नेपालले विपद् जोखिम न्यूनीकरण, विपद्मा परेका मानिसको खोज उद्दार, राहतलगायतका कार्य गर्ने विषयमा जुन विज्ञता हासिल गरिरहेको छ, यसको प्रशंसा गर्न चाहन्छु," गृहमन्त्री लेखकले भने, "बाढीको समयमा डुबानका क्षेत्रमा जसरी सशस्त्र प्रहरी बल नेपालका जवानहरूले कुशलतापूर्वक मानिसको जीवन रक्षा गर्छन्, त्यसका लागि हासिल गर्नुभएको सीप राष्ट्रका लागि समर्पित भएर नागरिकको जीवन रक्षाका लागि सधैं यसैगरी निष्ठापूर्वक काम गर्न आग्रह गर्दछु।"
उनले प्राप्त तालिमका सीपहरू राष्ट्रका लागि समर्पित गर्दै नागरिकको जीवन रक्षाका लागि प्रयोग गर्न पनि आग्रह गरे।