संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
2.6k
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आफ्नो आपत्ति जनाएका छन्।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले समिति सभापतिसँग असन्तुष्टि व्यक्त गरे। उनले संसद सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाउनुपर्ने बताए। आफूहरूलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरू कसैको दास नभएको उनको भनाइ थियो। उनले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको नै हुनुपर्ने कुरालाई दोहोर्याए।
"संसद भनेको सार्वभौम हो। यो मिनि पार्लियामेन्ट हो। सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौँ। हामीले बोलेका विषयमा तपाईंले रोक्नुहुन्छ। यो दुर्भाग्य हो। हामीलाई प्रतिबन्ध लगाउन पाउनुहुन्न," मोदीले भने, "सार्वजनिक लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरू हुनुहुँदैन, हुँदैन भन्ने। तपाईंहरूको हामी दास हो र? माओवादी पार्टीको कुरा हो नि यो।"
उनले सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहँदासम्म प्रश्न उठिरहने बताए।