arrow

मकैमा फौजी किराको प्रकोप, किसान चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
maize-fauji-kira.jpg

भोजपुर । भोजपुरका किसानहरू मकैबालीमा फौजी किराको समस्या बढेपछि चिन्तित भएका छन्। वैशाखको अन्तिम सातादेखि अमेरिकन फौजी किराको प्रकोप बढेसँगै मकैबालीमा ठूलो क्षति पुगेको स्थानीय किसान धनबहादुर थापाले बताएका छन्।

किराका कारण गोड्ने बेला भएको मकैको गुबोभित्र पसेर खाइदिने, पात खाने र बिरुवा पहेँलो भएर मर्ने समस्या देखिएको थापाले बताए। "यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ," उनले भने, "फौजी किराले मकैको गुबो नै खाएर नष्ट बनाएको अवस्था छ। मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ। विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ।"

जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायतका तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानहरूको भनाइ छ। किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रूपमा लगाइने मकैको उत्पादन घट्ने अवस्था रहेको किसानहरूले बताएका छन्।

कृषि ज्ञान केन्द्र भोजपुरले बेँसी तथा तल्लो भेगका किसानले लगाएको मकैबालीमा फौजी किराको समस्या देखिएको जनाएको छ। केन्द्रले किरा नियन्त्रणका लागि किसानहरूलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ