क्यान्सर अस्पताल चितवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिबाट 'मायस्थेनिया ग्राभिस' को शल्यक्रिया
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
651
Shares
चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपालमै पहिलो पटक 'मायस्थेनिया ग्राभिस' रोगको नयाँ प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ। दाङकी २२ वर्षीया एक महिलाको जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
अस्पतालका वरिष्ठ अंकोलोजिस्ट, थोरासिस एण्ड ल्याप्रोस्कपी सर्जन डा. विनय ठाकुरको नेतृत्वको चिकित्सक टोलीले ती महिलाको पेटमा एउटा सानो चिरा मात्र पारेर दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको थियो। डा. ठाकुरले यसअघि 'मायस्थेनिया ग्राभिस' को शल्यक्रिया गर्दा तीन-चारवटा प्वाल बनाएर र श्वासप्रश्वास नलीमा पाइप राखेर गरिने गरेकोमा यसपटक एउटा मात्र प्वाल बनाएर तथा श्वासप्रश्वास नलीमा पाइप नै नराखी गरिएको बताए। उनले अब यो प्रविधिबाट निरन्तर शल्यक्रिया गरिने जानकारी दिए।
डा. ठाकुरका अनुसार 'मायस्थेनिया ग्राभिस' को शल्यक्रिया नेपालमा कम हुने र यो जोखिमपूर्ण मानिन्छ। यस रोगका बिरामीको मांसपेशी कमजोर हुने भएकाले 'मसल रिल्याक्सिङ' औषधि प्रयोग गर्दा बिरामीलाई लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ। यसपटक मसल रिल्याक्सिङ औषधि प्रयोग नगरी बिरामीलाई आधारभूत एनेस्थेसिया औषधि मात्र चलाइएको थियो, जसले शल्यक्रियापछि श्वासप्रश्वासले पहिलेकै अवस्थामा काम गर्न सहयोग पुर्यायो।
अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. रेश्मी थापाले यो शल्यक्रियामा 'नन इन्टुवेटेड' प्रविधि प्रयोग गरिएको बताइन्। उनले विगतमा यस्तो शल्यक्रिया गर्दा श्वासप्रश्वास नलीमा पाइप राखेर बेहोस बनाइने र मसल रिल्याक्सिङ औषधिको प्रयोग गरिने गरेकोमा यसले जोखिम बढाउने बताए।
यो रोग कुनै पनि उमेरका मानिसलाई असर गर्न सक्छ, तर २५ वर्षमुनि र ६० वर्षभन्दा माथिकामा बढी देखिने डा. ठाकुरले बताए। विश्वमा यो रोग एक वर्षमा एक लाख जनामा नयाँ एक जना बिरामीमा भेटिने गर्छ। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले चिनियाँ सरकारको सहयोगमा प्राप्त उपकरणको प्रयोग गरी यो शल्यक्रिया गरिएको बताए। अस्पतालका अध्यक्ष डा. विजय न्यौपानेले यो शल्यक्रिया सर्जरी र एनेस्थेसिया दुवैको सफलता रहेको उल्लेख गरे।