arrow

यी हुन् कांग्रेस पदाधिकारी बैठकका निर्णयहरु

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष - गृहमन्त्री लेखकको राजीनामा आवश्यक छैन [भिडियो]

जो संलग्न छन्, तिनलाई कारबाही हुनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
mahat-prakasharan-12.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको निष्कर्ष निकालेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले गृहमन्त्री लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेको हो।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, "राजीनामाको कुरै छैन। उहाँ संलग्न रहेको कुनै आधार छैन। उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ। जो संलग्न छन्, तिनलाई कारबाही हुनुपर्छ।"

उनले गृहमन्त्रीले उक्त प्रकरणमा आफ्नै संलग्नता नरहेको र कुनै गल्ती नरहेको बताएपछि कांग्रेसले उनको कुरालाई पूर्ण रूपमा विश्वास गरेको बताए । उनले भिजिट भिसा प्रकरणमा संलग्नहरूमाथि छानबिन र कारबाही हुनुपर्छ भन्नेमा दुई मत नरहेको स्पष्ट पारे । उनले भिजिट भिसाको दुरुपयोग र भ्रष्टाचार आफूहरूलाई मान्य नभएको बताउँदै त्यसमा गृहमन्त्रीको संलग्नता नरहेको दोहोर्‍याए । 

उनले भने, “गृहमन्त्रीज्युले अहिले जुन विषय सार्वजनिक रूपमा, मिडियामा आएको छ । त्यस सम्बन्धमा उनले स–विस्तार आफ्नो कुरा राख्नुभयो । आफ्नो कुनै पनि हिसाबको संलग्नता छैन, मैले कुनै कमीकमजोरी गल्ती गरेको छैन भनेर स–विस्तार कुरा राख्नुभयो । हामीले उनको कुरालाई पूर्ण रूपमा विश्वास गर्‍यौ । उनको भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन । तर, जो संलग्न छन्, ती माथि कारबाही हुनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन ।  भिजिट भिसाको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने कुरा हाम्रो लागि मान्य छैन । जहाँसम्म गृहमन्त्रीको कुरा छ, उन यसमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त भयौँ ।”  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेपछि चौतर्फबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको थियो। काँग्रेसका केही नेताहरूले पनि नैतिकताका आधारमा लेखकले राजीनामा दिनुपर्ने बताएका थिए।

यता, गृहमन्त्री लेखकले आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने बताउँदै आएका छन्। उनले जेठ १३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेका छन्।

साथै बैठकमा सक्रिय सदस्यता नविकरण गर्ने बिषयमा भएको प्रगति बारे महामन्त्रीले प्रस्तुति दिएका थिए । पार्टीले क्रियाशील सदस्यहरूको विवरण आगामी असार मसान्तसम्म टुङ्ग्याउने लक्ष्य राखेको छ। यसले पार्टीको आन्तरिक सङ्गठनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ