इरानको अडान: युरेनियम प्रशोधन आफ्नै भूमिमा यथावत रहने, क्षेत्रीय सहयोगमा पनि खुला
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
1.2k
Shares
काठमाडौँ । इरानी विदेशमन्त्री सेयद अब्बास अराघ्चीले देशको भूमिमा युरेनियम प्रशोधन प्रक्रिया यथावत रूपमा निरन्तर जारी रहने स्पष्ट धारणा राखेका छन्। साथै, उनले क्षेत्रीय स्तरमा युरेनियम प्रशोधन केन्द्र स्थापनाको पहललाई स्वागतयोग्य बताएका छन्।
इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूसँगको एक औपचारिक छलफलका क्रममा मन्त्री अराघ्चीले अमेरिका तथा अन्य पक्षहरूसँगको संवादमार्फत इरानले कूटनीतिक मार्गलाई निरन्तरता दिइरहेको बताएका छन्, तर कुनै पनि प्रकारको दबाबमा वार्ता गर्न नसकिने स्पष्ट अडान राखेका छन्।
विदेशमन्त्री अराघ्चीले फ्रान्स, जर्मनी तथा बेलायत (ई–३०) द्वारा सन् २०१५ को आणविक सहमति अन्तर्गत रहेको 'स्न्यापब्याक' व्यवस्था प्रयोग गरी पुनः प्रतिबन्ध लगाउने प्रयास भएमा, इरानले त्यसप्रति आवश्यक र कडा प्रतिक्रिया जनाउने चेतावनीसमेत दिएका छन्।
उक्त आणविक सहमति इरान र छ वटा राष्ट्रहरू बेलायत, चीन, फ्रान्स, जर्मनी, रूस तथा अमेरिकाबीच सम्पन्न भएको थियो। सो सहमति अनुसार, यदि इरानले निर्धारित प्रतिबद्धता पालना नगरेमा अन्य पक्षहरूले अन्तर्राष्ट्रिय प्रतिबन्ध पुनः लगाउन सक्ने व्यवस्था गरिएको छ।
इरान र अमेरिकाबीचको संवाद गत अप्रिलदेखि ओमानको मध्यस्थतामा पाँच चरणमा सम्पन्न भएको छ, जसअन्तर्गत तीन चरण ओमानको मुस्कट र दुई चरण इटालीको रोम सहरमा सम्पन्न भएका थिए।
हालसालै अमेरिकी अधिकारीहरूले इरानसँग युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्न आग्रह गरेका छन्, तर इरानले सो प्रस्तावलाई अस्वीकार गर्दै आफ्ना राष्ट्रिय अधिकार तथा हितहरूलाई कायम राख्ने भनाइ राखेको छ।