मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
575
Shares
मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, दुर्घटनामा परी मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो। दुर्घटनामा बर्दघाट नगरपालिका–५ मध्यविन्दु–७ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन्।
दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। गम्भीर घाइते मनिष घर्तीमगरलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ। प्रहरीका अनुसार, टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेका थिए।